सुनसरी : धरान उपमहानगरपालिकाका प्रमुख हर्कर साम्पाङले कोकाह खानेपानी अभियानमा असार २१ गतेसम्म जुटेको आय व्यय विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले अभियान सञ्चालन हुँदा धरान खानेपानी व्यवस्थापन बोर्ड र विभिन्न दाताहरुबाट नगद र जिन्सी गरी ७ करोड ४ लाख १८ हजार ६ सय ३२ रुपैयाँ संकलन भएको हिसाब राईले सार्वजनिक गर्नुभयो ।
कोकाह खानेपानी अभियानका संयोजक समेत रहेका पूर्व ब्रिटिश गोर्खा सैनिक दत्तकुमार लिम्बुले धरान खानेपानी व्यवस्थापन बोर्डबाट ६६ लाख ५१ हजार २ सय २० रुपैयाँ बराबरको पाइप प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘बोर्डले दिएको बाहेक अभियान मार्फत पाइप खरिदमा ४ करोड ९४ लाख ५९ हजार ७०१ रुपैयाँ खर्च भएको छ भने इन्धन खर्च ७ लाख १२ हजार ९ सय ९९ रुपैयाँ, भाडा ढुवानीमा २९ लाख ९४ हजार ८ सय ७८ रुपैयाँ, खाना तथा खाजा, पानीमा ५० लाख २४ हजार ५ सय ५८ रुपैयाँ, विशेष प्राविधिक कामदारलाई ज्याला खर्च २७ लाख १ हजार ५२ रुपैयाँ, टोचन तार र भल्व खरिद गर्दा ४२ लाख ९७ हजार ४ सय १० रुपैयाँ खर्च भएको छ ।’
यस्तै अभियानका सदस्य समिर तामाङले ७ लाख ३३ हजार ९ सय ४८ रुपैयाँ पाइप खरिदको भुक्तानी गर्न बाँकी रहेको र मर्मत तथा फिटिङको ३४ हजार ४ सय रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताउनुभयो ।
गत फागुन २३ गतेदेखि सुरु भएको कोकाह खानेपानी अभियानको ९८ औं दिनमा धरान– २० पकुवामा पानी खसाइएको थियो । ४२ किलो मिटर लामो पाइपलाइन मार्फत कोकाह खोलाबाट ल्याएको पानी हाल वडा १७ र ११ को केही भागमा वितरण भइरहेको छ । उक्त पानी सुम्निमा ट्यांकी र स्वास्तिका चोकको ट्यांकीसम्म पनि पुर्याउन अब ५र५ किलोमिटर पाइप खरिद गरेर बिछ्याउने योजना रहेको उहाँले बताउनुभयो ।























