उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको छ ।
करिब एक महिना यता नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन भएको छ । प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले आफ्नो सम्पूर्ण कामको जिम्मेवारी अधिकृत मुरारीप्रसाद घिमिरेलाई सुम्पिएता पनि आर्थिक पाटो नसुम्पिएको कारण अहिले कर्मचारीहरुको तलबदेखि दिएर आर्थिक पक्षका सम्पूर्ण कामहरु रोकिएको छ ।
नगरबासीहरुले उक्त बिषयमा चौतर्फी रुपमा चर्को आलोचनाका गरिरहेका छन् । साथै,आफ्नो नीजि स्वार्थ वा फाइदाको खेलमा आमनगरबासीले सधैं कष्ट पाएको आरोप लगाएका छन् । एउटाले अर्कोलाई दोषी देखाएर आफू पानीमाथिको ओभानो हुन खोज्ने प्रविधिले नगरको विकासमा समेत प्रत्यक्ष असर पुग्ने देखिएको छ ।
केहि समय अगाडि उर्लाबारी–२ मा विश्व बैंकको सहयोगमा निर्माण सुरु हुन लागेका फोरलेनको सडक शिलान्यासको बिषयलाई लिएर मेयर गंगाप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीबीच विवाद भएको थियो । मुख्य कम्पनीबाट पहिलो पटक निर्मल उप्रेतीले पाएको ठेक्का उसले काममा ढिलाइ गरेपछि दोस्रो पटक ठेक्का खुलाएर अर्जुन तुम्रोकले पाएका थिए । उप्रेतीले आफू सँग भएको ४६ पानाको सम्झौतालाई खिल्ली उडाएर मुख्य कम्पनीले कुनै खबर बिना दोस्रो पक्षलाई ठेक्का दिएर काम शुरु गर्न लागेको शिलान्यासमा आपत्ति जनाउँदै मेयरलाई सम्पर्क गरेर बाटोमा मुद्दा हाल्ने आफू माथी अन्याय भएको दाबी गरेका थिए । सडकको शिलान्यास कार्यक्रमले काम सुरु भएपछि कुनै असर नपुगोस् भनेर वडा अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत , प्रमुख ठेकदारसंग समन्वय गरेर मेयर गंगा खरेलले शिलान्यास आफैंले रोकेको स्विकार गर्नु भएको छ ।
बाटोको शिलान्यास रोकिने बित्तिकै हिँडेका अधिकारी आर्थिक बर्ष २०७८ । ७९ को कार्ययोजना अन्तर्गतको स्वास्थ्य बिमाको बाँकी रहेको काम सम्पन्न गर्नका लागि दुई दिन आएका थिए । त्यहाँ देखि यता उनी फर्किएर आएका छैनन् ।
उक्त बिषयमा गंगा खरेलका अनुसार अधिकृतले कुनै आधिकारिक छुट्टी नलिइ गएको तर मन्त्रालयबाट दुई महिनाको छुट्टी स्वीकृति गराएको बताउनुभयो । अधिकारी अहिले फोन सम्पर्कमा समेत छैनन् । आर्थिक पक्ष आफैंले सम्हाल्दै आएका अधिकृत यसरी गयल हुँदा तत्काललाई कुनै बाधा अवरोध सिर्जना नभए पनि भदौ देखि नयाँ योजनाका कामहरु र कर्मचारीको तलब जस्ता कुरामा भने अवस्था जटिल बन्दै जान सक्ने बताइएको छ । मेयर खरेलले अधिकृत ल्याउने कुरामा प्रक्रियागत रुपमा अगाडि बढिरहेको बताउनुभयो ।























