दिपेन्द्रबहादुर बराईली

उर्लाबारी । भट्टराई कूलवंश प्रतिष्ठान दमक बशिष्ठ आश्रममा कूलपूजाको तयारी पूरा भएको छ ।
प्रत्येक तीन÷तीन वर्षमा गरिने कूलपूजा (देवाली) कार्यक्रम पुस १ गतेदेखि सुरु हुने भएको हो । ९ गतेसम्म चल्ने कूलपूजाका भट्टराई बन्धुहरु भेला भई, आपसी भेटघाट, वंश परिचय, छलफल, कूलदर्शन, बलिपूजाका लागि केन्द्रीत हुने छन् । कुलको विँडो थाम्न र परम्परालाई जोगाइराख्न कूलपूजा गरिँदै आएको छ । कूलपूजाको मूख्य दिन पुस ९ गते देशविदेशका लाखौं भट्टराई बन्धु तथा आफन्तजन उपस्थित हुने कूलपूजा आयोजक समिति २०८० का संयोजक दिनेश भट्टराईले बताएका छन् ।
झापाको दमक–४ मा रहेको भट्टराई कुलवंश प्रतिष्ठान नेपालले पत्रकार सम्मेलन गर्दै १७ औं केन्द्रीय कूलपूजाको कार्यक्रम सार्वजनिक गरेको थियो । उक्त पत्रकार सम्मेलनमा भट्टराई कुलवंश प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराई, उपाध्यक्ष दिनेश भट्टराई, कोषाध्यक्ष मनोज कुमार भट्टराईलगायत केन्द्रीय सदस्यहरुको सहभागीता रहेको थियो ।
व्यवस्थापन समितिका संयोजक दिनेश भट्टराईका अनुसार उक्त कार्यक्रम यहीँ आउने पौष १ गतेबाट सुरु भई ९ गते सम्म चल्ने छ । पौष १ गते पुरस्चरण शुभारम्भ हुने छ भने क्रमशः १ गते देखि ६ गते सम्म प्रत्येक साँझ ७ बजे देखि कुल दर्शन तथा जोखना हेराउने, ७ गते पुरस्चरणको पुर्णाहुती , तिलकपाती एवम् प्रसाद वितरण, ८ गते मण्डल निर्माण, बलि दर्ता, बलि पर्सिने, कुलदिप प्रज्वलन गरि जाग्राम बस्ने र ९ गते बिहान ६ बजेदेखि नै बलि छेदन कार्यक्रम रहेको छ ।
संयोजक भट्टराईले विभिन्न देश तथा वरिपरिबाट आउने अतिथिहरुका लागि खाना बस्न टहरा, शौचालय, पिउने पानी, विजुली बत्ती आवश्यक आधारभूत कुराहरुको पूर्र्व तयारी भइसकेको जानकारी दिएका छन् ।
त्यस्तै, प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईले उक्त कूलपूजामा देशका विभिन्न जिल्ला, भारत, भुटान, बर्मा,अमेरिका,बेलायत लगायतका देशहरुबाट पनि भट्टराई बन्धुहरु सहभागी हुने जानकारी दिएका छन् । पूजामा सहभागीता जनाउने अतिथिका लागि बस्न प्रतिष्ठानले ९ सय १४ वटा डेरा टहरा निर्माणको काम सम्पन्न गरिसकेको छ । यस पटक करिब दश हजार बस्ने गरी र पन्ध्र हजार भन्दा बढी पूजा गर्नका लागि भट्टराई बन्धुहरु भेला हुने , पच्चीस सय बढी बोकालाई बलि दिने अनुमान गरिएको छ भने उक्त कूलपूजा सम्पन्न गर्नका लागि प्रतिष्ठानले करिब २० लाख रुपैयाँ खर्च अनुमान गरेको छ । उक्त अनुमानित खर्च प्रतिष्ठानले टहराको भाडा, बलिका लागि ल्याइने बोका दर्ता प्रणालीबाट ब्यवस्थापन गर्ने तयारी रहेको अध्यक्ष भट्टराईको भनाई छ । उक्त भट्टराई कुलवंश प्रतिष्ठान २०५३ साल देखि संचालनमा आएको छ । हाल पाँच बिघा चार कट्ठा क्षेत्रफलमा फैलिएको छ । परिसरमा गुरु बशिष्ठको शालिक, कुल मन्दिर, शिव मन्दिर, गणेश मन्दिर, दुर्गा मन्दिर, धर्मानन्द स्मृति भवन, आकर्षक गेट, विभिन्न धर्मशाला तथा भौतिक संरचना निर्माण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय