उर्लाबारी । केही शिक्षकहरु विद्यालयको समयमा पढाउनभन्दा राजनीति दलको कार्यक्रममा भेटिन थालेपछि जनआक्रोश पैदा हुन थालेको छ ।
शिक्षकलाई राजनीति दलको झोला बोकेर नहिँड्न चेतावनीसहित मोरङको उर्लाबारी नगरपालिका अगाडि धर्ना दिएको हो । राधिका माबिका शिक्षक प्रेमप्रसाद भट्टराई एमालेको कार्यक्रममा विद्यालय छोडेरै पुगेपछि अभिभावकहरु रुष्ट बनेका छन् ।
सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी नगर समितिको नेतृत्वमा नगरपालिका अगाडि धर्नासहित ज्ञापन पत्र बुझाइएको छ । सामुदायिक विद्यालयका शिक्षकहरुलाई राजनीति मोह भए नेता बन्न सुझाव दिएको छ ।
शिक्षक भट्टराईले गत २९ गते नेकपा एमालेले तेह्रथुमको बसन्तपुरमा आयोजना गरेको सभामा पुगेर तस्बिर सार्वजनिक गरेको बिषय गलत भएको ठहर गर्दै सम्बन्धित निकायलाई शिक्षक जस्तो ब्यक्ति खुलेआम पार्टीको प्रचारप्रसारमा लाग्नु अनैतिक गतिविधि भएको कार्यक्रमका अगुवा संजय कुमालले जानकारी दिनुभयो । उहाँले विषय बस्तु बुझ्न खोज्दा शिक्षकले अराजकता देखाउँदै जवाफदेही नभएको भन्दै स्थानिय सरकारको ध्यानाकर्षण गर्नका लागि उक्त धर्ना कार्यक्रम गरिएको उहाँको भनाई छ ।
शैक्षिक क्षेत्रमा नीति तथा संस्थागत बिधालयलयहरुको लापरबाही र सामुदायिक बिद्यालयको गुणस्तर दिनप्रति दिन ओरालो लाग्दै गरेको अवस्थालाई तत्काल सुधार गर्नु पर्ने जस्ता मागहरु राख्दै उक्त ज्ञापन पत्र बुझाएको राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी नगर कमिटीका सचिव सुमन थापाले बताउनुभयो । पार्टीका उर्लाबारी नगरसभापति उमेशजंग थापालगायतको उपस्थिति रहेको थियो ।























