विराटनगर : कोशी प्रदेशसभाको आजको बैठकले कोशी प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८० सर्वसम्मतले पारित गरेको छ ।

सो विधेयक आर्थिक मामिला तथा योजनामन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सदनमा पेश गर्नुभएको थियो ।

विधेयकका सम्बन्धमा सदस्य लीलाबल्लभ अधिकारीले उठाउनुभएको प्रश्नको जवाफमा सरकारले संविधान र संसद्को अधिकारलाई हनन गरेको जनाउँदै विशेष परिस्थितिमा सरकारले आर्थिक विधेयक ल्याउन नसक्दा वा पारित गर्न नसक्दा राजस्व सङ्कलनमा कुनै बाधा नपुगोस् भन्ने उद्देश्यले उक्त विधेयक प्रस्तुत गरिएको बताउनुभयो ।

त्यसअघि नेकपा (एमाले) संसदीय दलको तर्फबाट प्रदेशसभा सदस्य निरन राईले देशको कृषि, सिँचाइ, सडक, शिक्षालय, अस्पताल तथा पर्यटन क्षेत्रमा लगानी बढाउन सके बसाइँसराइका समस्या समाधान हुने बताउनुभयो । बैठकको प्रारम्भमा प्रदेशसभासदस्य किशोरचन्द्र दुलाल, खगेश्वरी पौडेल, गीता तिमल्सेना, नीरादेवी खनाल, मैया श्रेष्ठ, रामदेव यादव, रेवतीरमण भण्डारी, विनोद राई र सदानन्द मण्डलले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक पुस ६ गते अपराह्न ३ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय