उर्लाबारी, नेवाः न्हूः पुचः उर्लाबारीको सामुदायिक भवनको शिलान्यास गरिएको छ । आज एक कार्यक्रमका बीच नेवा देय दबु केन्द्रीय अध्यक्ष पवित्रमान बज्राचार्यले भवनको शिलान्यास गर्नुभयो ।
उर्लाबारी–५ स्थित उर्लाबारी उद्योग वाणिज्य संघको छेउमा संस्थाको दुई कठ्ठा जग्गामा भवन निर्माण गरिने नगर अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । भवन शिलान्यास कार्यक्रममा सहयोगी दाता तथा विभिन्न महानुभावलाई सम्मान तथा नेपाल सम्बत् ११४४ को पात्रो समेत विमोचन गरिएको थियो ।
कार्यक्रमका बक्ताहरुले संस्थाको भवन निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताउनुभयो । सो अवसरमा प्रमुख अतिथि बज्राचार्य, प्रदेश सांसदद्वय उमाकान्त गौतम र विद्या चाम्लिङ, उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेललगायतले मन्तव्य राखेका थिए । भवन निर्माण समितिका सचिव रामकुमार श्रेष्ठका अनुसार तीन तले भवनको डिपिआर तयार भएता पनि पहिलो चरणमा एक तला निर्माण गरिने छ । पहिलो तला निर्माण गर्न एक करोड ४८ लाख रुपैयाँ आवश्यक पर्ने भएकोले सहयोगका लागि सबै पक्षसमक्ष संस्था आग्रह गरेको छ । भवन निर्माणका लागि यस वर्ष प्रदेश सरकारबाट २५ लाख रुपैयाँ छुट्टिएको सचिव रामकुमार श्रेष्ठले बताउनुभयो । तीन तले भवन निर्माण सम्पन्न गर्दा तीन करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
भवन निर्माणका लागि सात सदस्यीय समिति समेत गठन गरिएको छ । जसको संयोजकमा प्रकाश खड्गी, सहसंयोजकमा मनिलाल श्रेष्ठ, सचिवमा रामकुमार श्रेष्ठ, सहसचिवमा विष्णुकुमार श्रेष्ठ, कोषाध्यक्षमा भीमकुमार श्रेष्ठ, सदस्यमा सरिता श्रेष्ठ र भुपेन्द्र भताजु प्रधान रहनुभएको छ । नेवाः न्हूः पुचः नगर अध्यक्ष चन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बद्री श्रेष्ठले गर्नुभएको थियो ।























