उर्लाबारी । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रालयहरुलाई पुनर्गठन गरेर मन्त्री फेरेर भएपनि कामलाई गति दिने बताउनुभएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका– ५ खोलीटार नेकपा माओवादी केन्द्र मिक्लाजुङ गाउँ कमिटीले आयोजना गरेको आमसभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो । ‘१ वर्ष पुरा हुँदैछ तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको यो बीचमा मैले सुशासनको पक्षमा सामाजिक न्यायको पक्षमा र समृद्धिको पक्षमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेको छु’ उहाँले भन्नुभयो–‘ त्यो एक वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठूलो सम्बोधन गर्दैछु । त्यो सम्बोधनमा ती सबै कुरा उल्लेख हुनेछन् भने अर्को वर्ष मैले नयाँ ढंगले काम सुरु गर्ने तपाईहरुलाई थाहा छ मैले जहिले पनि निरन्तरतामा क्रमभंग गर्दै विकास गर्ने कुरा गर्दै आएको छु ।’ १० गतेका दिन नै राष्ट्रको नाममा सम्बोधन गर्ने र ११ गतेबाट नै जनताका कामहरु अगाडि लाने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘सिंहदरबारमा विभिन्न मन्त्रालयहरुलाई बोलाएर उनीहरुका कामहरु कसरी भएका छन् । अब ठिक ढंगले काम भएन’ उहाँले भन्नुभयो–‘आफुले प्रतिबद्धता व्यक्त गरेको कामहरुपनि कतिपय मन्त्रालयहरुले पुरा गरेका छैनन् । त्यस्ता मन्त्रालयहरुलाई पुनर्गठन गरेर मन्त्री फेरेर भएपनि कामलाई गति दिने तिर मैले प्रतिवद्धता व्यक्त गरेको छु ।’
प्रदेशको नामाकरणको विषयमा जनताहरुको चिन्ता र चिन्तनलाई दलहरुसँग सम्वाद गरेर सकारात्मक पहलकदमी लिने उहाँले प्रतिवद्धता जाहेर गर्नुभयो ।
जनयुद्धकालमा सबै उत्पीडित वर्ग जाति क्षेत्र लिंग समुदायको पहिचान र अधिकारको लडाई लड्नु पर्छ भनेर त्यसको नेतृत्व गर्ने पार्टी र त्यसको नेताको हैसियतले यहाँको जनताको चिन्ता र यहाँको जनताको चासोलाई नामाकरणको विषयलाई पनि सबै राजनीति दलहरुसँग पनि र यहाँ आन्दोलनरत सबै संस्थाहरु नेताहरुसँगपनि संवाद गरेर सकारात्मक ढंगले यसलाई सामाधान गर्न गर्न पहल गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले लाभाखोला बृहत खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता जाहेर गर्नुभयो । यस्तै, चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने कुरामा सकारात्मक पहल गर्ने उहाँले बताउनुभयो । उहाँले उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सुकुम्वासीको समस्या समाधानमा पहल गर्ने, किसानले बिक्री गरेको दूधको मूल्य दुग्ध विकास संस्थालाई सहुलियत ऋण उपलब्ध गराउने पनि उहाँले बताउनुभएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तरगत मिक्लाजुङ–५ मा आउनु भएका प्रधानमन्त्री प्रचण्डलाई मिक्लाजुङ वडा नं. ५ का वडाध्यक्ष मेघराज तामाङले ज्ञापनपत्र समेत बुझाउनुभएको थियो । उर्लाबारी, मिक्लाजुङ, चुलाचुलीलगायतबाट पनि छुटाछुट्टै ज्ञापन पत्र बुझाएको मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले जानकारी दिनुभयो ।























