उर्लाबारी । मोरङको उर्लाबारीस्थित नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाको २८ औं उपशाखा सभा सम्पन्न भएको छ ।
मंगलबार उर्लाबारी–५ स्थित श्रीसगरमाथा सहकारीको सभाहलमा साधारणसभा सम्पन्न भएको हो । सभामा उपशाखा सभापति भानुभक्त शर्मा पराजुली, सचिव गोपालप्रसाद रिमाल र कोषाध्यक्ष ऋषिकेश खनालले क्रमशः भावी कार्ययोजना, प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उर्लाबारी रेडक्रसले सर्पदंश उपचार सेवाको सुरुवात गरेको, विपन्न परिवारलाई कम्बल वितरण गरेको, कार्यालय परिसरमा कम्पाउण्ड वाल लगाएको, एक वर्षको अवधिमा १ हजार ९७ पिन्ट रगत संकलन गरेको, नगर क्षेत्रभित्र बाढी तथा अग्नि पीडितहरुलाई जिल्ला रेडक्रसबाट प्राप्त राहत सामग्री वितरण गरिएको प्रगति प्रतिवेदनमा उल्लेख छ । यस्तै, कोषाध्यक्ष खनालले ११ लाख ६५ हजार २१० रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
उपशाखा सभामा प्रमुख अतिथि प्रदेश सांसद उमाकान्त गौतम, प्रदेश सांसद शोभा चेम्जोङ पालुङ्वा, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति सुबोधकुमार सिंह, उर्लाबारीका पूर्व मेयर खड्ग फागो, रेडक्रस उर्लाबारीका निवर्तमान सभापति मदनकुमार प्रसाई, सल्लाहकार डिबी थापाले बोल्नुभएको थियो । कार्यक्रममा वर्षभरिमा सबैभन्दा बढी रक्तदान गर्ने सिद्देश्वर बाबा धामसहित तीन वटा संस्थालाई प्रसंसापत्र प्रदान गरिएको थियो । उपशाखा सभापति भानुभक्त शर्मा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति भागीरथा अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव गोपालप्रसाद रिमालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।























