उर्लाबारी । रुसी सेनामा भर्ती भर्ना भएका थप ३ नेपालीको मृत्यु भएको छ । उनीहरुको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धार्दिङका राजकुमार गिरी रहेका छन् ।
रुसी सेनामा भर्ती भएका स्याङ्जाका २३ वर्षीय युवाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१४ मान्खुका हरिप्रसाद अर्यालको युद्धका क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाली सेनामा भर्ती भएका अर्याल तीन वर्षमा नै जागिर छोडेर दुबई हुँदै रुस पुगेका थिए । गत कात्र्तिक ३ गते दुबईबाट रुस गएको परिवारले जनाएको छ । केही समय दुबई बसेर अर्याल रुस गएका थिए । परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट वडा कार्यालयलाई खबर गरेपछि वडा कार्यालयले परिवारलाई हरिको मृत्यु भएको सूचना दिएको थियो । डिसेम्बर ३ मा घटनामा भएको तर डिसेम्बर २८ मा मात्रै खबर आएको जानकारी परराष्ट्र मन्त्रालयले गराएको छ । रुसी सेनामा भर्ती भएपछि अर्याल निरन्तर परिवारको सम्पर्कमा रहेका थिए । घटना हुनु भन्दा एक दिन अगाडिसम्म सम्पर्कमा रहेको परिवारले जनाएको छ । अर्यालले सामाजिक सञ्जाल फेसबुकमा सेनामा भर्तीभएका र साथीसँगै हिँडेका भिडियो र तस्बिर राख्नु भएको देखिन्छ ।
थप ३ जनाको मृत्युसँगै रुस–युक्रेन युद्धमा गएर मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ४ सम्ममा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको जनाएको थियो । जसमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार रोक्का, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल छन् ।
नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार युद्धमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तानको मृत्यु भएको हो । दूतावासका अनुसार यही नोभेम्बर १५ (कात्तिक २९) उनीहरूको मृत्यु भएको हो । दोलखाका रोक्का दुई महिनाअघि मात्र रूसी सेनामा भर्ना भएका थिए । रसियन सेनामा भर्ती भएर तालिम गरिरहेका उनको गत कात्तिक २९ गते नै मृत्यु भएपनि परिवार र आफन्तले मंसिर ११ गते मात्रै मृत्युको खबर पाएको जनाइएको छ । यसअघि नेपाल प्रहरीमा रहेका उनी पेन्सन नभई दुई महिना अघि रुस गएका थिए । केही महिनाअघि मात्र रुसी सेनामा भर्ती भएका सन्दीप थपलिया युक्रेनको बाख्मुत सहरमा भएको युद्धमा मारिएका थिए । ल्याब टेक्निसियन पढेका उनी नेपालमा जागिर नपाएपछि रुसी सेनामा भर्ना हुन रुस पुगेको जनाएको छ ।
आफू सेनामा भर्ती भएको कुरा सन्दीपले आफ्नी बहिनी शान्तालाई सुनाएका थिए । रुस र युक्रेन दुवै देशले विदेशी मूलका मानिसलाई पनि सेनामा भर्ती गरिरहेका छन् ।
रुसी सेनामा भर्ती भएर युक्रेनी फौजले ४ जना नेपालीलाई कब्जामा लिएका छन् । उनीहरूलाई छुटाउने सम्बन्धमा परराष्ट्रले गृहकार्य गरिरहेको छ । मंसिर १८ मा मारिएका धादिङका पूर्णबहादुर गुरूङको सम्बन्धमा हालसम्म कुनै पनि आधिकारिक सूचना मन्त्रालयले बाहिर ल्याएको छैन । गुरुङको परिवारले भने उनको काजकिरिया गरिसकेको छ । परराष्ट्रमन्त्री एनपी साउदीले रुसी सेनामा भर्ना भएकामध्ये १०० जना सम्पर्कविहीन रहेको निवेदन आफूहरुलाई प्राप्त भएको सार्वजनिक रूपमै बताइसकेका छन् । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ना हुन नेपालका करिब २०० जना भर्ना हुन गएको उल्लेख गरेका छन् ।
रुस–युक्रेन युद्ध सुरु भएपछि नेपालीहरू सेनामा भर्ना हुन रुस गएका थिए । रुस–युक्रेन युद्ध २०७८ फागुन १२ गतेबाट सुरु भएको हो । यता रुसमा जाने नेपालीहरूको संख्या निकै बढेको देखिएको छ । अझ गत वैशाखदेखि कात्तिकसम्म मात्र ५३३ जना नेपाली रुस गएका छन् जबकि २०७५ । ७६ देखि ०७९।८० सम्म ७४४ जना मात्र रुस गएका थिए ।
उल्लेखित दुई तथ्यांक हेर्दा पनि युद्ध सुरु भएपछि त्यहाँ जाने नेपालीको संख्या बढेको देखिन्छ । ती नेपाली अध्ययन, रोजगार र भिजिट भिसामा त्यहाँ गएका छन् । पछिल्ला महिनाका तथ्यांक हेर्ने हो भने अध्ययन र अन्य रोजगार भनेर गए पनि उनीहरू युद्धमा सेनाका भूमिका गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । अहिले रुसी सेनामा २ सयदेखि ५ सयको संख्यामा नेपाली रहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । नेपाली युवाहरूलाई रुसी सेनाको फ्रन्ट डेस्कमा राख्ने गरेको बताइएको छ । नेपालीलाई हतियार चलाउने सामान्य तालिम दिएर युद्धमा खटाइने गरेको छ । युद्धमा सामेल हुने नेपालीहरूलाई अलि समय काम गरेपछि रुसी नागरिकता पनि पाइन्छ भनेर लोभ देखाइने गरेको छ । सरकारले मृत्यु भएका १० जनाकै शव फिर्ता पठाइदिन र क्षतिपुर्ति दिन रुस सरकारलाई आग्रह गरेको छ ।























