लेटाङ । मोरङको लेटाङका नगरप्रमुख भुपेन्द्रकुमार लावतीले सहिदको अपमान गरेको भन्दै आइतबार सहिद परिवार र स्थानीयले प्रदर्शन गरेका छन् ।
सहिद स्मृति प्रतिष्ठान लेटाङले सहिदहरुको सम्मान गर्दै आफूहरुले स्थापना गरेको ठाउँमा यथास्थितिमा सहिद हरि भट्टराई (परिवर्तन)को प्रतिमा राख्न माग गरिएको हो । बस टर्मिनलको लागि भनेर छुट्याइएको जग्गाभित्र सहिद स्तम्भ राख्ने सहमतिसहित सहिद हरि भट्टराईको प्रतिमा निर्माण गरेर स्तम्भ शिलान्यास भएकोमा नगरप्रमुख लावतीको निर्देशनमा प्रतिमा नै तोडफोड भएको थियो । त्यसविरुद्ध सहिद परिवार र स्थानीयले नाराबाजीसहित नगर प्रमुखबिरुद्ध प्रदर्शन गरेका हुन् । नगरपालिकाको कदम नसच्चिए कडा आन्दोलनमा उत्रने चेतावनी उनीहरुले दिएका छन् ।
सहिदको प्रतिमा यथास्थानमा राख्न माग गर्दै भएको प्रदर्शनको क्रममा नगरपालिका कार्यालयमा सामान्य रुपमा तोडफोडसमेत भएको प्रहरीले जनाएको छ । नगर प्रमुख लावतीले आफ्नो कमजोरी नसच्याए आन्दोलन थप चर्किने प्रतिष्ठानले जनाएको छ ।
घाइते अपांग महासंघका केन्द्रीय उपाध्यक्ष राम कार्कीले सहिदप्रतिको अपमान सैय्य नहुने बताउनुभयो । राज्यले राजपत्रमा समेत सुचिकृत गरिसकेका सहिदलाई स्थानीय सरकार प्रमुखले अपमान गरेर अपराधिक काम गरेको उहाँको भनाइ छ । सहिद प्रतिष्ठानका अध्यक्ष कृष्ण लम्सालले देशका सबै सहिदको शीर निहुरिने काम नगर प्रमुखबाट भएको बताउनुभयो । मेयरले स्थानीय सरकार प्रमुखको भूमिका निर्वाह नगरी गैरजिम्मेवार भएर सहिदहरुको अपमान गरेको उहाँको भनाइ थियो । सल्लाहकार प्रेम मिभकले देशका सबै सहिदको शिर निहुरिने काम नगर प्रमुखबाट नै सुरु भएको बताउनुभयो । नगरप्रमुखले स्थानीय सरकार प्रमुखको भूमिका देखि आफु बिचलित भएर सहिदहरुको अपमान गर्न नहुने र सकेसम्म वार्ता र सबाद गरि यो समस्याको तत्काल हल गर्न उहाँले सुझाब दिनुभयो । सहिद पार्क स्थापनाका लागि नगरपालिकाले व्यस्थापन गर्नुपर्नेमा नगरप्रमुख लावती गैरजिम्मेवार बनेको स्थानीयले बताएका छन् । अन्य थुप्रै बिकल्पहरु हुँदाहुँदै नगर प्रहरी लगाएर स्थापना गरिएको सहिदको प्रतिमा गायव पार्नु आपत्तीजनक रहेको सहिद परिवारले बताएका छन् ।























