पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको १४ औं नगरसभाले पारित गरेका निर्णयहरू सार्वजनिक गरिएको छ ।
आईतबार नगरपालिकाको सभाहलमा आयोजित एक पत्रकार सम्मेलनमार्फत नगरसभाले पारित गरेका निर्णयहरू सार्वजनिक गरिएको हो । नगरका प्रवक्ता नवीन कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडाध्यक्ष भीमकुमार राईलगायतको उपस्थिति रहेको थियो ।
गत माघ ०५ गते सम्पन्न भएको नगरसभाबाट पारित निर्णयहरूबारे प्रवक्ता नवीन कार्कीले पत्रकारहरुलाई जानकारी दिनुभयो । नगर प्रहरी सम्वन्धी ऐन २०८० र साझेदारी सम्वन्धी ऐन २०८० पारित भएको उहाँले बताउनुभयो । सोहि क्रममा नगरका लेखा समिति संयोजक भीमकुमार राईबाट लेखा सुपरीवेक्षण र न्यायिक समिति सदस्य पदम धिमालबाट न्यायिक समितिको प्रतिवेदनसहित अन्य केही महत्वपूर्ण निर्णयहरु नगरसभामा पारित भएको उहाँले बताउनुभयो । उहाँले नगरका गौरवका आयोजनाहरु सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजन भएको जानकारी दिनुभयो । उहाँले पथरीशनिश्चरे नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणका लागि जग्गा प्राप्तिको काम भइरहेको बताउँदै भवन निर्माणका लागि १३ औं नगरसभाबाट ३ करोड ६१ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिसकेको बताउनुभयो । नगर अस्पतालको नयाँ भवनको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको, वडा नं. ०८ को बुद्ध माविको भवन निर्माण कार्य सम्पन्न गर्न क्रमागत योजना अनुरुप १ करोड रूपैयाँ बराबरको बजेटबाट हाल निर्माण भइरहेको, वडा १० को मलामी खाजा घर निर्माणका लागि १ करोड रूपैयाँ, पुलचोक हुदै सिरिशेडाँडा–भातेगौडा सडक खण्ड सम्पन्न गर्ने उद्देश्यले १ करोड रूपैयाँ र पथरी बजारमा टहरा निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन भएको उहाँले बताउनुभयो । सो क्रममा सहभागी संचारकर्मीहरुले फोहोरमैला ब्यवस्थापनलगायत विषयमा प्रश्न राखेका थिए । नगरप्रमुख तुम्वापोले फोहोरमैला ब्यवस्थापन जटिल समस्या भएकाले त्यसको समाधानमा नगरपालिका लागि परेको जानकारी दिनुभयो । आलुको उत्पादन बढाई आत्मनिर्भर बनाउनेतर्फ नगरपालिकाले सोचिरहेको उहाँले बताउनुभयो । उहाँले किसानले उत्पादन गरेका कृषिजन्य सामानहरूको लागि पनि संघीय सरकार समक्ष एउटा चिस्यान केन्द्रको आवश्यकता महशुस गरी आवश्यक बजेटको माग गरेको नगरप्रमुख तुम्वापोको भनाई छ । पत्रकार सम्मेलन कार्यक्रम नगरका सूचना संयोजक सन्तोष राईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय