मोरङको उर्लाबारी–१ चारघरेको बाँस झ्याङमा फेला परेको दुर्लभ वन्यजन्तु हिँउ चितुवालाई उद्धार गरी कोशी टप्पु बन्यजन्तु आरक्षण केन्द्र लगिएको छ ।
मंगलबार बिहान एक्कासी बास झ्याङमा हिउ चितुवा देखापरेपछि स्थानियहरु त्रसित भएका थिए । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सव वन डिभिजन कार्यालय मंगलबारेको टोलीले दिनभरि जसो हिँउ चितुवालाई बास झ्याङमा पहरा दिएर गाउँ पस्नबाट रोकेका थिए ।
चितुवालाई नियन्त्रणमा लिन कोशी टप्पु वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट वन्यजन्तु विज्ञको संयुक्त टोली उर्लाबारी आएको थियो । बाँसको झ्याङमा लुकेर बसेको अवस्थामा वन्यजन्तु विज्ञको टोलीले डार्ट (औषधिजन्य सुई) प्रहार गरी बेहोस बनाएर चितुवालाई नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय मंगलबारेका प्रमुख नवीनराज दाहालले बताउनुभयो ।
पहिलो पटक चितुवालाई प्रहार गरिएको बेहोस बनाउने औषधिको प्रयोगले काम गरेन । त्यसपछि चितुवा भागेको थियो । स्थानीयले चितुवालाई लखेटेका थिए । त्यसपछि पुनः अर्को बास झ्याङमा चितुवा पसेको थियो । त्यसपछि पुनः बेहोस बनाउने औषधिको प्रयोग गरि चितुवा नियन्त्रणमा लिएको थियो ।
प्राकृतिक वासस्थान छाडेर गाउँ पसेको अन्दाजी ४० किलोग्राम तौलको वयस्क भाले हिँउ चितुवा रहेको जनाइएको छ । प्राकृतिक वासस्थान छाडेर वनबाट गाउँ पसेको चितुवालाई स्थानीयले घेरा हालेका थिए । स्थानीयले घेरा हालेपछि भाग्ने बाटो नपाएर चितुवा बाँसको झ्याङमा पसेको थियो ।
जंगलमा मानवीय गतिविधि बढेपछि र खानेकुराको अभाव भएपछि आहाराको खोजीमा चितुवा गाउँ पसेको अनुमान छ । चितुवाले कुनै क्षति भने गरेन । तत्काल नियन्त्रणमा लिइएका कारण चितुवाले क्षति गर्न नपाएको स्थानीयले बताएका छन् । विशेष गरी हिँउ चितुवा पहाडी भेगमा पाईने जन्तु भएपनि चुरे पहाडदेखि करिब २० किलोमिटर टाढा रहेको उर्लाबारी कसरी आईपुग्यो भन्ने बारेमा एकिन भने हुन सकेको छैन ।























