उर्लाबारी। मोरङको उर्लाबारीस्थित झारसाँदीको बाँसघारीमा भेटिएको ‘हिउँचितुवा’लाई ललितपुरस्थित सदर चिडियाखाना पुर्याइएको छ ।
समुद्री सतहदेखि ३ हजार मिटरभन्दा माथिको उचाइमा रहने हिउँचितुवा मंगलबार दिउँसो करिब उर्लाबारी–१ झारसाँदीमा भेटिएको थियो ।
उर्लाबारीको समुद्र सतहदेखि १२५ मिटरको उचाइमा छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले हिउँ चितुवालाई बेहोस बनाएर राति नै चिडियाखाना लगेको हो ।
उपयुक्त बासस्थानको व्यवस्था गर्न हिउँचितुवालाई चिडियाखानामा लगिएको हो । पशु स्वास्थ्यकर्मीहरूको निगरामीमा उसलाई लगिएको थियो । कोशीटप्पु वन्यजन्तु आरक्षका कामु प्रमुख संरक्षण अधिकृत रमेश यादवका अनुसार मंगलबार बेलुका ५ बजेको समयमा हिउँचितुवाको उद्दार गरिएको थियो ।
खुट्टामा चोट लागेको हिउँचितुवालाई केही दिन निगरानीमा राखेर उपचार गरिनेछ । उच्च हिमाली क्षेत्रमा पाइने हिउँचितुवा कसरी उर्लाबारी आइपुग्यो भन्ने विषयमा अध्ययन भइरहेको आरक्षले जनाएको छ ।
उद्धार गरिएको वयस्क चितुवाको तौल अन्दाजी ४० किलोग्राम रहेको छ ।
चितुवालाई कोसीटप्पु वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट वन्यजन्तु विज्ञको संयुक्त टोलीले नियन्त्रण लिएको थियो । बाँसको झ्याङमा लुकेर बसेको अवस्थामा औषधिजन्य सुई प्रहार गरी बेहोस बनाएर चितुवालाई नियन्त्रणमा लिइएको थियो ।
माथिल्लो हिमाली इलाकामा देखिने हिउँचितुवा तराई क्षेत्रमा देखिनु वन्यजन्तुकर्मीहरूको लागि नौलो घटना हो । यसअघि यति तल्लो क्षेत्रमा हिउँचितुवा नदेखिएको विज्ञहरुले बताएका छन् । हिउँचितुवा कञ्चनजंघा संरक्षण क्षेत्रतिरबाट खानाको खोजी गर्दै तराई झरेको वा बाटो बिराएको हुनसक्ने अनुमान गरिएको छ । आमाबाट छुटेको बच्चा अल्मलिएर तल्लो क्षेत्रमा आइपुगेको हुनसक्ने अनुमान पनि छ ।
नेपालमा ३ हजारदेखि ६ हजार मिटर उचाइसम्म भेटिने हिउँचितुवालाई आइयुसिएनले संकटग्रस्त वन्यजन्तुको सूची ‘रेड लिस्ट’ मा राखेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत यो संरक्षित वन्यजन्तुको सूचीमा छ ।
मंगलबार दिउँसो चितुवा देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नियन्त्रणमा लिन नसकेपछि डिभिजन वन कार्यालय मोरङको र उसले पनि नसकेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोग लिइएको थियो । कोषका भेटेरिनरी प्राविधिक सहितको टोलीले साँझ हिउँचितुवालाई नियन्त्रणमा लिएको थियो ।
विज्ञहरूका अनुसार असाध्यै लजालु स्वभावको जनावर भएकाले हिउँचितुवा मानव बस्तीमा आउने सम्भावना निकै कम हुन्छ । दुई वर्षअघि सगरमाथा जाने बाटोमा एक जना विदेशीले २ हजार २५० मिटर उचाइमा हिउँचितुवाको भिडिओ रेकर्ड गरेका थिए । मंगोलिया र रूसमा भने हिउँचितुवाको बासस्थान ५०० मिटर उचाइमै हुने गरेको बताइन्छ ।
सन् २०१७ को तथ्यांकअनुसार नेपालमा ३ सयदेखि ४ सयको संख्यामा हिउँचितुवा छन् । से–फोक्सुण्डो र मनाङको नार्फु भ्याली हिउँचितुवाको मुख्य बासस्थान हो । त्यसबाहेक अन्नपूर्ण, मनास्लु, कञ्चनजंगा, गौरीशंकर हिमाल तथा मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लामा हिउँचितुवा पाइन्छन् ।
नेपालमा ४ सय वटासम्म हिउँचितुवा रहेको अनुमान छ । नेपालसहित चीन, भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, काजकिस्तान, क्यारगिस्तान, मंगोलिया, रुस, ताजकिस्तान, उज्वेकिस्तानमा हिउँचितुवा पाइन्छन् । यी सबै देशमा गरेर ६ हजार २ सय बढी हिउँचितुवा रहेको अनुमान छ ।























