दिपेन्द्रबहादुर बराईली
उर्लाबारी । मोरङको उर्लाबारी–३ मा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानले लिजमा लिएको खेलमैदानको मुख्य प्रवेशद्वारामा तालाबन्दी गरेको तीन दिन वित्दा पनि सम्बन्धित निकायले चासो दिएको छैन ।
मंगलबारे युवा क्लबले गत शुक्रवार तालाबन्दी गरेको थियो । तालाबन्दी गरेको तीन दिन बितिसक्दा पनि प्रतिष्ठानको तर्फबाट वार्ताको लागि कुनै प्रतिक्रिया आएको छैन । पन्ध्र बर्ष अगाडि २०६५ सालमा १३ हेक्टर जमिन प्रतिष्ठानले कृषि प्रयोजनका लागि भनेर लिजमा लिएको थियो । उक्त जमिन पाँच बर्ष अगाडिसम्म खेलकुद मैदानको रुपमा स्थानीयले प्रयोग गर्दै आइरहेका थिए । तर, पाँच बर्ष यता देखि प्रतिष्ठानले मेडिकल कलेजका निम्ति काम अगाडि बढाउने भनेर खेलमैदानलाई रोकेको तर हालसम्म कम्पाउन्डको काम भन्दा यता केही हुन सकेको छैन । मंगलबारे युवा क्लबले पुनः खेलमैदानको रुपमा प्रयोग गर्न पाउनु पर्ने भन्दै तालाबन्दी गरेको क्लबका
अध्यक्ष पिपलराज गिरीले बताउनुभयो । तत्काल वार्ताको माध्यमबाट निष्कर्ष निकाल्नु पर्ने उहाँको भनाई छ । त्यस्तै, स्थानीय प्रभु राईले मंगलबारेका युवाहरुलाई खेलमैदान आवश्यक रहेको भन्दै प्रतिष्ठान समाजको लागि थोरै उत्तरदायी हुन पर्ने बताउनुभयो । सात दिने अल्टिमेटमसहित गरिएको उक्त तालाबन्दी सम्झौता विपरित रहेको यदि यसलाई बेवास्ता गरिए आन्दोलनले चर्कोे रुप लिने समेत बताउनुभयो ।
सोही बिषयमा पूर्व जनप्रतिनिधि तथा मंगलबारे युवा क्लबका सहल्लाकार सदस्य सोम प्रसाद तिम्सिना (राम) ले नेपाल सरकारसँग लिजमा लिएको जग्गामा सम्झौता अनुरुपको कार्यसम्पादन नगर्नु भनेको सिङ्गो मंगलबारेको अपहेलना गरेको बताउनुभयो । उहाँले यो बिरोधको कार्यक्रममा उर्लाबारीका सम्पूर्ण राजनीतिक दलहरू , वडा प्रतिनिधिहरु, स्थानिय सरकारका प्रतिनिधिहरुलगायतले सकारात्मक सोचका साथ आफुले निभाउनु पर्ने भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।























