उर्लाबारी । बीर शहीदको सम्झना गर्दै मंगलबार मोरङको उर्लाबारीमा शहीद दिवस मनाइएको छ । नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतको सम्झनामा वर्षेनी शहीद दिवस मनाउँदै आईएको छ ।
प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा तथा प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ गरिन्छ ।
शहीद सप्ताहको अन्तिम दिन मंगलबार साँझ उर्लाबारी चौकमा उर्लाबारी जेसीजले शहिदको सम्झनामा दिप प्रज्वलन गरिएको हो । जहानियाँ राणा शासन विरुद्धको क्रान्तिमा आफ्नो जीवनको आहुती गरेका र देश तथा जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीद प्रतिको सम्झना र सम्मान प्रकट गर्दै दिवसमा दिप प्रज्वलन गरिएको उर्लाबारी जेसीजका अध्यक्ष नविन श्रेष्ठले जानकारी दिनुभयो । उर्लाबारी चौकमा जेसीजका सदस्यलगायत सामाजिक ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।























