दिपेन्द्रबहादुर बराईली
मधुमल्ला । कोशी प्रदेशसभा सदस्य बिद्या चाम्लिङले विभिन्न आयोजनाहरुको निरीक्षण गर्नुभएको छ । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर १ को लक्ष्मीझार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्माणधिन खानेपानी ट्याङ्की अवलोकन गर्दै सांसद चाम्लिङले उक्त योजनाको काम तीब्र भइरहेको बताउनुभयो । उहाँले लक्ष्मीझारबासीले चाँडै शुद्ध खानेपानी उपभोग गर्न पाउने उहाँको भनाई छ ।
त्यस्तै,अर्को योजना उर्लाबारी वडा नम्बर १ कै कोपिला चौक–कत्ले जोड्ने बाहुनी खोला पुल निर्माणको काम पनि निरीक्षण गर्नु भएको छ । गत मंसिरदेखि सुरु भएको पुल निर्माणको काम आगामी जेठसम्म सम्पन्न हुने सम्झौता रहेको छ । राज्यले लगानी गरेको विकासको काममा कुनै पनि लापरबाही हुनु हुँदैन भनेर सांसद चाम्लिङले पटक पटक खबरदारी गर्दै स्थलगत निरीक्षण गर्दै आएको बताउनुभयो । त्यस्तै, सांसद चाम्लिङले मिक्लाजुङ गाउँपालिका वडा नं. ४ मा रहेको रुम्बाडाँगी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिलाई सांसद विकास कोषबाट २५ लाख रुपैयाँ बजेट विनियोजन गर्नुभएको छ । उक्त बजेटको कामलाई अगाडि बढाउन प्राविधिक टोलीसहित सांसद चाम्लिङ स्वयम् उपस्थित भएर खानेपानीको मुहान सुन्तले खोपासम्म पुगेर स्थलगत निरीक्षण गर्नु भएको छ । करिब ३२ घरले पिउने पानी उपभोग गर्ने उक्त योजना आगामी तीन महिनासम्ममा सम्पन्न गर्ने र पिउने पानीको समस्या सावधान गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो । विकासको लागि आफ्नो कार्यकालमा तनमन लगाएर काम गर्ने र जनताको अपेक्षा आशालाई कहिँ कतैबाट असर पुग्ने कार्य नगर्ने समेत उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।























