उर्लाबारी । उर्लाबारी–३ मंगलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले जग्गा लिजमा लिएर कबुल गरे अनुसार काम नगरेको भन्दै मंगलबारे युवा क्लब र स्थानीयको अगुवाईमा आन्दोलन गरिरहेको बेला मदन भण्डारी स्मृति प्रतिष्ठानले खेलमैदानका लागि कुनै पनि हालतमा दिन नसकिने प्रष्ट पारेको छ ।
प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको हो । प्रतिष्ठानका अध्यक्ष रोमनाथ ओलीले प्रौद्योगिक विश्व विद्यालयमा स्तरोन्नति गर्न क्रियाशिल रहेको बताउँदै घेराबारा गरिएको क्षेत्र खेलमैदानका लागि दिन नसकिने बताउनुभएको छ । गुरु योजना तयार पारी सोही अनुसार स्रोत खोजी गर्ने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । चाँडै उक्त जमिनमा भौतिक पूर्वाधार निर्माणको काम अघि बढाउने तयारी भइरहेको उहाँले प्रष्ट पार्नुभयो । करिब १३.१ विगाहा जमिन प्रतिष्ठानले कम्पाउनवाल लगाएको र उक्त जमिनमा प्रतिष्ठानले सञ्चालन गरेका कृषि कार्यक्रम अध्ययन गर्ने विद्यार्थीहरुको अभ्यास गराउने उद्देश्य अनुरुपमा विभिन्न किसिमका बाली लगाउने, तरकारी खेती लगाउने, मौरीपालन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । अनावश्यक विवाद र बखेडा सिर्जना गर्नुको कुनै तुक, तकृ र औचित्व नरहेको उहाँले बताउनुभयो । प्रतिष्ठानको महान अभियानसँगै दिर्घकालिन लक्ष्य प्रौद्योगिक विश्व विद्यालयमा स्तरोन्नतीमा सबैलाई हातेमालो गर्न प्रतिष्ठानले अपिल गरेको छ ।
प्रतिष्ठानकै पहलमा सालबारी सामुदायिक वन क्षेत्रको मैदानमा खेलमैदान निर्माण गरेको बताइएको छ । ४ संस्करण गोल्डकपको समेत आयोजना गरी खेलक्षेत्रको विकासमा प्रतिष्ठान लागि परेको अवगत गराउँदै नेपाल सरकार मन्त्री परिषद् बैठकले प्रतिष्ठानद्धारा सञ्चालित भेटेरीनरी जेटिए, कृषि डिप्लोमा र बि.एस्सी. (नर्स) एजी. विषय अध्ययन गर्ने विद्यार्थीहरुको प्रयोगात्मक अभ्यास गराउन आवश्यक फर्महरु स्थापना गर्न २०६५ कार्तिक २० गते निर्णय अनुसार वन तथा भू–संरक्षण मन्त्रालय र प्रतिष्ठानबीच भाडामा लिने दिने सहमति भएको प्रतिष्ठानका कोषाध्यक्ष तथा कोशी प्रदेशसभा सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका सचिब अग्नी भट्टराई, सदस्य सूर्यप्रसाद गुरागाई, प्रेमप्रकाश कोइराला, नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोला, राप्रपा उर्लाबारी नगर अध्यक्ष निरुपा निरौला, प्रतिष्ठानका कार्यकारी अधिकृत विनोद अर्याललगायतको सहभागिता रहेको थियो ।























