उर्लाबारी । कोशी प्रदेश स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवारले प्रदेश सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड दिइरहेको बताउनुभयो ।
बुधबार मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको ५५ आंै वार्षिक उत्सव एवम् अभिभावक दिवसमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । राधिका माबि नमूना विद्यालयको रुपमा अघि बढिरहेको बताउँदै उहाँले विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमुको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्व विद्यार्थी (विद्यावारिधी),विशिष्ट पदमा आसिन व्यक्तित्व, पूर्व प्रधानाध्यापक, प्रहरी (प्रथम श्रेणी), पूर्व मन्त्री, पूर्व मेयरलगायतलाई सम्मान गरिएको थियो मन्त्रीसुनुवारले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको छ । सोही अवसरमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमुको लगानीमा निर्माण गरिएको सरस्वती मन्दिर र शिक्षक यज्ञ दाहालको लगानीमा निर्माण भएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक अनावरणसमेत गरिएको छ । उक्त कार्यक्रममा कोशी प्रदेशसभा सदस्य विद्या चाम्लिङलगायतले बोल्नुभएको थियो ।

२०२५ सालमा स्थापना भएको राधिकामा शिशु कक्षादेखि १२ कक्षासम्म र प्राबिधिक तर्फ कृषि बिषयको पढाई हुँदै आएको छ । यस विद्यालयमा करिब २ हजार ५ विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयलाई सु–व्यवस्थित र शैक्षिक हवका रुपमा निर्माण गर्नका लागि परेको प्रधानाध्यापक कुमार पोख्रेलले जानकारी दिनुभयो । जिम्मेवार शिक्षक, अनुशासित विद्यार्थी र अभिभावको निरन्तर सहयोग तथा निगरानीका कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको उहाँको भनाई छ । विद्यालयमा ५ कक्षादेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको छ । शिशु कक्षादेखि कक्षा ४ सम्म बेग्लै ब्लग छ ।

कक्षा ११ र १२ मा , मानविकी, व्यवस्थापन, शिक्षा,बाली विज्ञान, कानुन र विज्ञानको पढाइ भइरहेको विद्यालयले जनाएको छ । २०६६ सालदेखि उच्च मावि तहको पढाइ सुरु भएको थियो । शिक्षा विभागले ल्याएको एक निर्वाचन क्षेत्र एक नमूना विद्यालय कार्यक्रममा यो विद्यालय पनि छनोट भएको थियो ।
व्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमुले अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको लगातारको मिहिनेतका कारण विद्यालयको सुधार सम्भव भएको बताउनुभयो । ‘अभिभावकको निरन्तर निगरानी, विद्यालय व्यवस्थापन समितिको खटनपटन एवम् जिम्मेवारी वोध तथा शिक्षकहरुमा आएको सेवा भावकै कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको हो’ अध्यक्ष पोमुले भन्नुभयो । विद्यालयमा शैक्षिक सुधारसँगै निजी विद्यालय छाडेर भर्ना हुन आउनेको संख्या बढेको उहाँको भनाइ छ ।
समय समयमा विद्यालयको अवलोकन भ्रमणका लागि जिल्ला भित्र र बाहिरका विभिन्न विद्यालयको टोली आउने गरेको विद्यालयका सहायक प्रधानाध्यापक रुद्रप्रसाद न्यौपानेले बताउनुभयो । जिल्ला स्तरमा सञ्चालन हुने विद्यालयस्तरीय खेलकुद, सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरुमा समेत सो विद्यालयले राम्रो नतिजा ल्याउँदै आएको छ ।
सो विद्यालयले खेलकुदलाई प्रोत्साहन गर्न छुट्टै खेल शिक्षकको व्यवस्था गरेको छ । प्रदेश सरकारको सहयोगमा १ जना विद्यालय नर्सको ब्यवस्थापन र विद्यालयले खेलकुदलाई प्रोत्साहन गर्न छुट्टै खेल शिक्षकको व्यवस्था गरेको छ । विद्यालयमा रहेको हेल्थ डेस्कले विद्यार्थीको सामान्य स्वास्थ्य परीक्षण, अत्यावश्यक औषधि वितरण तथा स्वास्थ्य सरसफाइ र महिनावारी भएको बेला सहयोग गर्ने गरिएको छ ।























