बेलबारी । मोरङको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहितको जम्बो टोली तालिम भन्दै घुम्न हिँडेपछि सेवाग्राही मारमा परेका छन् ।

गत माघ २९ गते नगरको १४ औँ नगरसभा सम्पन्न भएपछि फागुन २ गते बेलबारी नगरपालिकाका कर्मचारीको जम्बो टोली तालिमको नाममा घुमफिर गर्न संखुवासभा गएको छ ।

करिब एक महिनाअघि मात्रै नगरपालिका प्रवेश गरेका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालको जन्मथलो संखुवासभा हो । नगरपालिकाकी लेखा अधिकृत धनमाया राईको घर पनि संखुवासभा नै हो ।

घुम्न निस्कने टोलीमा प्रमुख प्रशासकीय ढकाल, लेखा अधिकृत राई, सूचना पूर्वाधार विकास शाखाका दिलीप राजांवशी, वडा नं. ११ का इन्जिनियर योगेश गौतम, नगर अस्पतालका कर्मचारी दिनेश गौतमलगायत रहेका छन् । घुम्न हिँडेकामध्ये केही कर्मचारीले भ्रमण तथा अनुगमन भत्ताको लागि आवेदन दिएको पालिका स्रोतको दाबी छ ।

नगर स्रोतका अनुसार मन्त्रालयको कार्यक्रम छ भनी हिँडेका प्रमुख प्रमुख प्रशासकीय अधिकृत ढकाल प्रदेशको मन्त्रालयमा तालिम भन्दै हिँडेका थिए । सडक तथा पूर्वाधार विकास उपशाखाका इन्जिनियर बालकृष्ण निरौला र राम शंकर शाह सार्वजनिक खरिद अनुगमन कार्यालयको तालिममा इटहरी गएको भन्दै तथा लेखा शाखा अधिकृत राईलगायत अन्य कर्मचारीसमेत विभिन्न काममा गएको भनी संखुवसभा पुगेको पाइएको छ ।

नगरपालिकाकी उप प्रमुख नीतु थापा कोइरालाले प्रमुख प्रशासकिय अधिकृतले तालिमा भएको बताएपनि कहाँ र के तालिम भन्ने जानकारी नभएको बताइन् । नगरप्रमुख दिलप्रसाद राईले भने यो विषयमा बोल्न नै चाहेनन् । उनले भने, ‘यो विषयमा के बोलिरहनु र ? उहाँहरू आएपछि स्पष्टिकरण सोध्छु, अनि बोल्छु ।’

नगरपालिकामा कर्मचारी नभएपछि पालिकाको नियमित काममा समेत असर परेको छ । ऐनअनुसार हरेक उत्तरदायी अधिकारीले आफ्नो अनुपस्थितिमा तोकिएको जिम्मेवारी अर्को व्यक्तिलाई सुम्पनु पर्छ । ती अधिकारीको अनुपस्थितिमा तोकिएका अधिकारीले काम गर्न सक्छन् । तर, बिदा नलिई घुम्न गएका नगरका प्रमुख प्रशासकीय अधिकृतले भने आफ्नो जिम्मेवारी कसैलाई दिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय