उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नं. ९ मा किरात याक्थुम चुम्लुङ उर्लाबारीले आयोजना गरेको चासोक तङ्नामको हिसाब सार्वजनिक गरिएको छ ।
किरात याक्थुम चुम्लुङ उर्लाबारी नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गरी हिसाब सार्वजनिक गरेको हो । सहयोग तथा भेटी संकलनबाट ८ लाख ४० हजार ८ सय २५ रुपैयाँ संकलन भएको र ७ लाख ३७ हजार २ सय ९० रुपैयाँ खर्च भई १ लाख ३ हजार ४ सय ३५ रुपैयाँ बचत भएको कोषाध्यक्ष कर्ण लिम्बूले जानकारी दिनुभयो । उर्लाबारी हङकङ समाज, उर्लाबारी नगरपालिका, वडा नं. ८ र ९ ले पनि चासोक तङ्नाममा सहयोग गरेका थिए । हरेक वर्ष धान्य पूर्णिमाको दिन लिम्बू समुदायले नयाँ अन्न खान सुरु गरेर चासोक तङ्नाम मनाउँदै आएका छन् । यो वर्ष चासोक तङ्नाम पुस १० गतेदेखि १५ गतेसम्म पाँच दिन मनाइएको थियो । लिम्बू जाति अन्नलाई एक प्रकारले माङ् (देवता)नै मान्छन् । पैँयु फुल्ने समयमा चराहरू जाडो छल्न दक्षिणतिर लागेपछि उँधौली याम सुरु हुने गर्छ । लिम्बू भाषामा ‘चासोक’को अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरा निङ्वाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नु भन्ने हुन्छ । तागेरानिङ्वाभुमाङ जल, जमिन, वायु, अग्नि वा सूर्यका जन्मदाता मानिन्छ । ‘तङ्नाम’ भनेको पर्व,चाड अर्थात उत्सव भन्ने हुन्छ ।
लिम्बू मुन्धुमशास्त्र अनुसार आदिम लिम्बू पुर्खा सावा येत्हाङले काँचो कन्दमूल खोजी खाने गर्दथे । काँचो कन्दमूलबाट उन्मुक्ति पाउन उनै पुर्खाले तपस्या गर्नुभयो । यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो जातको पाङ्दुर), क्यावो (फापर), फामु (कागुनी) लगायत बिज दिएको लिम्बूशास्त्रमा उल्लेख गरिएको छ । प्राप्त बिज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बू महिला) ले संरक्षण गरेर कृषियुगको सुरुआत गरेको लिम्बू समूदायको मान्यता छ । त्यसपछि मानिस खाद्यान्न पकाएर खान अभ्यस्त भएको लिम्बू समूदायको भनाइ छ । धान र कोदो पाकेपछि लिम्बू जातिले चासोक गर्नैपर्ने चलन छ । चासोक पूजा आ–आफ्नो घरमा फेदाङ्मा (लिम्बू पुरेत) बोलाई गर्ने गरिन्छ ।
फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुकार्दै नयाँ अन्न खान पाउने अनुमतिको माग गर्छन् । नयाँ अन्न खाँदा, रोगव्याध नलागोस्, स्वस्थ जीवन बाँच्न पाइयोस् भन्ने कामना पनि गरिन्छ । चासोकका बेला कलात्मकरूपमा चिटिक्कको पुतली झलक दिने धानका बाला बुनिन्छ । यसलाई घरको पनि शोभा बढ्ने गरी ढोकाको छेयेउमा झुण्ड्याउने गरिन्छ । पत्रकार सम्मेलन कार्यक्रम सञ्चालन सचिब अन्जु सम्बाहाम्फे र अध्यक्ष बानु सुब्बाको सभापतित्वमा भएको थियो ।























