विराटनगर । मोरङमा करिब ३ लाख बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । यही फागुन १३ गतेदेखि सुरु हुने खोप अभियान अन्तर्गत ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन लागिएको हो ।
स्वास्थ्य कार्यालय मोरङले अभियान अन्तर्गत २ लाख ८१ हजार बालबालिकाहरूलाई खोप लगाउने लक्ष्य लिइएको छ । १५ दिने खोप अभियानमा मोरङका १७ वटा स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । दादुरा–रुबेलाको खोप अभियानमा १ हजार ५०० बढी खोप केन्द्रबाट बालबालिकाहरुलाई स्वास्थ्यकर्मीहरुले खोप लगाउनेछन् ।
खोप कार्यक्रम अन्तर्गत दादुरा–रुबेला बाहेक नियमित खोप नलगाएका बालबालिका पनि पहिचान गरेर खोप दिने तयारी रहेको छ । जस अन्तर्गत डिपीटी, पिसीभी र आईपिभी खोप लगाउने सरकारी योजना छ ।
सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्य राखेपनि पछिल्ला वर्षहरूमा मोरङ लगायत जिल्लामा दादुरा–रुबेलाको संक्रमण अपेक्षाकृत रूपमा घटेको छैन । त्यसै कारण सरकारले खोप अभियानमा जोड दिएको हो ।
सरकारी तथ्यांक अनुसार हाल दादुरा–रुबेलाको खोपमा ८४ प्रतिशत बालबालिकाको पहुँच पुगेको छ । तर, निवारणका लागि कम्तिमा ९५ प्रतिशत लक्षित समूहको खोपमा पहुँच पु¥याउनुपर्ने बाध्यता रहेको छ ।























