दमक । झापाको दमकमा यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायहरुको हक र अधिकारका क्षेत्रमा क्रियाशील संस्था लिड नेपालले आयआर्जनका लागि सैलुनसहित ट्रेनिङ एकाडेमी सञ्चालनमा ल्याएको छ ।
दमक नगरपालिका– ५ स्थित बेलडाँगी रोडमा दमक नगरपालिकाको सहयोगमा व्यवसायिक रुपमा नमुना यूनिसेक्स सैलुन एण्ड ट्रेनिङ एकाडेमी सञ्चालनमा ल्याइएको हो । उक्त एकाडेमीको शनिबार दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले उद्घाटन गर्नुभयो । उहाँले यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायहरुलाई सीपमूलक तालिम दिई स्वरोजगार बनाउन स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो । यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायहरुलाई सीपमूलक तालिम लगायतका अवसर प्रदान गरी स्वरोजगार बनाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा लिड नेपालकी कार्यक्रम संयोजक नुमा लिम्बू (चन्चला ) ले यौनिक तथा लैगिंक अल्पसंख्यकहरुलाई रोजगारीसंगै सीपमूलक तालिम प्रदान गरी संस्थागत सवलीकरणमा यस कार्यलाई सुरुवात गरेको बताउनुभयो । उहाँका अनुसार यस सैलुनमा नगरपालिकाले तालिमसंगै आवश्यक भौतिक संरचनामा सहयोग गरेको छ । नगरपालिकाले सैलुन खोल्नका लागि यसअघि त्यस सम्बन्धी तालिम प्रदान गरेको थियो । तालिममा १८ जना प्रशिक्षार्थी सहभागी रहनुभएको थियो ।
सैलुनमा श्रृंगार सम्बन्धी जनशक्ति सोही तालिमबाट तयार गरेको थियो । सैलुनमा विभिन्न किसिमका पाँच जना व्यूटि प्रशिक्षक संलग्न रहनुभएको छ । सैलुनले सबै ग्राहकका लागि सुलभ र सरल मूल्यमा नै श्रृंगारसंगै तालिम समेत सञ्चालन गर्ने लक्ष्य राखेको लिड नेपालका अध्यक्ष सुशिल पौडेलले बताउनुभयो । सैलुन उद्घाटनमा व्लू डाइमण्ड सोसाईटीकी पिन्की गुरुङ, लिड नेपालका पदाधिकारी, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।























