उर्लाबारी । मोरङको प्रहरी प्रमुख भएर आएका नयाँ एसपी नवराज कार्कीले जिल्लामा सादा पोशाकमा परिचालन हुने घुमुवा प्रहरी नराख्ने बताउनुभएको छ ।
विराटनगरमा सोमबार सञ्चारकर्मीहरूसँगको परिचायत्मक कार्यक्रममा उहाँले तत्काललाई सादा पोशााकका प्रहरी नराख्ने बताउनुभएको हो । सूचना संकलनका लागि भनेर यसअघिका एसपी दीपक पोखरेलले परिचालन गरेको ५ जना सादा पोशाकका प्रहरीलाई फिर्ता बोलाएर दरबन्दी रहेको स्थानमा पठाइएको छ ।
फागुन ७ गते मोरङ प्रहरी प्रमुख भएर आएका कार्कीले कार्यभार सम्हालेलगत्तै एसपी पोेखरेलले राखेका सादा पोशाकका वरिष्ठ नायव निरीक्षक राजेन्द्र कटुवाल, सहायक प्रहरी हवल्दार सुदर्शन कालाखेती, प्रहरी जवानहरु चुडामणी सुयल, अमृत श्रेष्ठ र काचुम भोटेको काज फिर्ता पठाउनुभएको छ । वरिष्ठ नायव निरीक्षक कटुवालको उच्च अदालत विराटनगरमा, सहायक प्रहरी हवल्दार कालाखेतीको जिल्ला प्रहरी कार्यालय खोटाङमा, प्रहरी जवानहरु अमृतको तेह्रथुममा, भोटेको ओखलढुङ्गा जिल्ला प्रहरी कार्यालयमा फिर्ता गरिएको छ ।
प्रहरीहरुले मंगलबार रमना बुझेर दरबन्दी भएको ठाउँमा खटिएको बताइएको छ । यसअघि सादा पोशाकमा रहेका प्रहरी सहायक हवल्दार गणेश श्रेष्ठ प्रहरी चौकी बखरीमा रहनुभएको छ । ‘कुनै घटना घट्यो भने त्यसको अनुसन्धान र अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न त्यसैबेला तत्काल प्रहरी परिचालन हुनेछ,’ उहाँले भन्नुभयोे, ‘त्यसबाहेक असुली धन्दामा सादा पोशाकका प्रहरी राखेर संगठन बदनाम गराउने पक्षमा म छैन ।’
एसपी कार्कीले चाँडै कार्ययोजना बनाएर शान्ति सुरक्षा व्यवस्थापन, अपराध रोकथाम र नियन्त्रणमा काम गर्ने बताउनुभयो । जिल्ला प्रहरी र मातहतको इलाकाबाट सेवाग्राहीलाई सेवा प्रवाह चुस्त र दुरुस्त बनाएर लैजाने उहाँले बताउनुभयो । ‘सेवाग्राहीको रेस्पोन्स चाँडोभन्दा चाडो गर्नेछु’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय