पुजन दास
उर्लाबारी । रोजगारीको सिलशिलामा इराक पुगेका एक नेपालीको मृत्यु भएको छ ।
गत आइतबार बिहान मोरङ मिक्लाजुङ–३ घर भएका रत्न बहादुर घिमिरे (राज)ले सुलेमानी सर्चनारस्थित भाडामा बसेको घरमा झुन्डिएको अवस्थामा शव भेटिएको जनाइएको छ । तर, नेपालमा रहेका मृतकका आफन्तले घटना रहस्यमय रहेको बताएका छन् । १ महिनाभित्र नेपाल आउन लागेका काका राजको मृत्यु रहस्यमय रहेको मिक्लाजुङ–३ का रमेश घिमिरेले जानकारी दिनुभयो । उहाँले काकाको शव ल्याउन समस्या भएको भन्दै सहयोगका लागि सम्बन्धित निकायलाई पहल गरिदिन अपिल गर्नु भएको छ । विगत १० बर्षदेखि इराकमा कार्यरत रहनुभएका घिमिरेको शव ल्याउन उल्टै रकम पठाउन ताकेदा आएपछि पीडित परिवारलाई झन् पीडामाथि पीडा थपिएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकका अध्यक्ष विनोद श्रेष्ठले भनाई उद्धत गर्दै पीडित परिवारका अनुसार साथीको कोठामा बस्ने गरेको र मादक पदार्थ सेवन गरेर झुन्डिएर आत्महत्या गरेको हो । तर, पीडित परिवारले भने घटना रहस्यमय रहेको दाबी गरेका छन् । सोधपुछका लागि सोही कोठामा बस्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।























