
उर्लाबारी । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी–३, मङ्गलबारे चोकबाट करिब २ किलोमिटर उत्तर चारकोशे जङ्गलभित्र अवस्थित रहेको छ, बेतिनी सिमसार ।
उर्लाबारी–२ स्थित बेतिनी सामुदायिक वनको हाताभित्र ६१ हेक्टरमा फैलिएको उक्त सिमसार व्यवस्थित पयर्टकीय स्थलमा रूपान्तरण भइरहेको छ । उर्लाबारी नगरपालिकाले नगरलाई ‘सिमसारयुक्त पर्यटकीय नगर’ घोषणा गरेको थियो । सोहीअनुरूप नै सिमसारलाई व्यवस्थित पर्यटकीय स्थल बनाउने जमर्को भइरहेको छ । सिमसार क्षेत्रमा तारजाली, पक्की शौचालय, चौतारालगायतका निर्माण गरिएको छ भने बनकै हाताभित्र बाल उद्यान निर्माण भएको छ । तीनवटा बाघका प्रतिमालाई बाल उद्यानमा राखिएको छ ।
सिमसार क्षेत्रलाई व्यवस्थित बनाउन आकर्षक फलैँचा, फूलबारी, सेल्फी डाँडालगायत निर्माण गर्ने कार्यमा लागि परेको बेतिनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीम राईले बताउनुभयो ।
एकान्त र सुन्दर वातावरण रहेका कारण पर्यटकहरूको आकर्षणको केन्द्र बनिरहेको छ । ‘हामीले सिमसारलाई पूर्वकै नमूना पयर्टकीय स्थल बनाउने जमर्को गरिरहेका छौं’, सचिब अर्जुन बास्तोलाले भन्नुभयो, ‘अझै सिमसारलाई व्यवस्थित बनाउन बाँकी नै छ ।’
सिमसारलाई व्यवस्थित बनाउन प्रवेश शुलक प्रतिव्यक्ति १० रुपैयाँ तोकिएको सदस्य मिलन दाहालले जानकारी दिनुभयो । सिमसार क्षेत्रमा दैनिक ५÷६ सय आन्तरिक पर्यटकहरू आउने गरेका छन् भने बिदाको समयमा सिमसार घुम्न आउनेको संख्या अत्यधिक हुने गरेको उहाँको भनाई छ । सिमसार क्षेत्रको विकासका लागि गुरुयोजना तयार भइसकेको छ । हाल दुई वटा पोखरी रहेका छन् । छुट्टीको समयमा सिमसार क्षेत्रमा वनभोज खान र घुम्नका लागिसमेत आन्तरिक पर्यटकहरू आउने गरेका छन् । २०६३ सालदेखि नै सिमसारलाई पयर्टकीय क्षेत्र बनाउने भन्दै बेतिनी सिमसार तथा मिक्लाजुङ पर्यटन एकीकृत विकास संघ गठन गरिएको थियो । उक्त सामुदायिक वन क्षेत्रमा बेत, सर्पगन्धा, हर्रो, अमला, लहरे, टिम्बुर, सुनाखरीजस्ता वनस्पतिहरू पाइन्छन् ।
चराचुरुङ्गीहरूमा मैना, लुइँचे, धनेश, मयुर, बट्टाई, हाँडीफोर, बकुल्लालगायत पाइन्छन् । यसैगरी सो स्थान आसपास मृग, हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिङ्गरलगायतका जीवजन्तुहरू पाइन्छन् । सिमसार क्षेत्रमा बेत, सर्पगन्धा, कवै, चाप, सिमसाग, भुइँचम्पा, ओरेसा, सुनाखरी, लौठसल्लाजस्ता लोपोन्मुख वनस्पतिहरू समेत रहेका छन् । थुप्रै प्रकारका स–साना जीवजन्तुहरू समेत यहाँ देख्न पाइन्छ ।
सुन्दर र एकान्त वातावरणमा रहेका कारण पनि पर्यटकहरूका लागि पहिलो रोजाइमा बेतिनी सिमसार पर्ने गरेको स्थानीय युवा शंकर निरौलाले बताउनुभयो । सिमसारलाई अझै व्यवस्थित रूपमा अगाडि बढाउन सकिए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने थुप्रै सम्भावनाहरू रहेको उहाँको धारणा रहेको छ । सो सिमसार पर्यटकीय केन्द्रका साथै विद्यार्थीहरूको लागि अध्ययन गर्ने थलोको रूपमा विकास हुन सक्ने भएकाले त्यसको संरक्षण र विकास गर्न आवश्यक छ ।