पथरी । मोरङको पथरीशनिश्चरे–७ लामा टोलीस्थित शौचालय गएकी १५ बर्षीया ज्ञानमति थुलुङ राईको हत्या चिनजानकै व्यक्तिबाट भएको आशंका गरिएको छ ।
सोमबार राति शौच गर्न जाँदा ती बालिकाको हत्या भएको पाइएको थियो । प्रहरी स्रोतका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । केहीलाई नियन्त्रणमा लिएर घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउन्डमा राति १०ः३० बजेतिर अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरेर बालिकाको बीभत्स तरिकाले हत्या गरेको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिनुभयो ।
धारिलो हतियार पटक–पटक प्रहार गरेर निर्मम तरिकाले हत्या गरिएको उहाँले जानकारी दिनुभयो । एकदमै विभत्स अवस्थामा घरको परिसरमा शव भेटिएको छ,’ उहाँले भन्नुभयोे, ‘घटनाको प्रकृति हेर्दा पछाडिबाट हतियार प्रहार भएको देखिन्छ । घटनासँग सम्बन्धित थप कुरा अनुसन्धानपछि खुल्छ ।’
हतियार प्रहारबाट गर्धन, अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको अवस्थामा ज्ञानमतिको शव फेला परेको जानकारी डिएसपी दाहालले दिनुभयो । घर परिसरमै रहेको शौचालय जाने क्रममा बालिकामाथि हतियार प्रहार भएको भनिएको छ । चिच्याएको आवाज आएपछि हेर्दा राईको हत्या भएको थियो ।
प्रहरीका अनुसार घटनामा संलग्नको पहिचान हुन सकिरहेको छैन । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की नेतृत्वको टोली घटनास्थलमा खटिएको छ । प्रहरीले घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको छ । तर, हालसम्म हत्यामा संलग्न र घटनाका बारेमा थप सूचना एवं जानकारी प्राप्त हुन नसकेको डिएसपी दाहालले बताउनुभयो ।
‘हत्या कसले र किन गरेको हो भन्ने खुलिसकेको छैन । हत्यामा संलग्नको खोजी तीव्र पारिएको छ,’ उहाँले भन्नुभयोे, ‘मिहिन ढङ्गले विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको छ । कुनै चिनजानकै व्यक्तिले घटना गराएको हो कि भन्ने आशंका छ ।’ प्रहरीले घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ ।
खोटाङको ऐँसेलु खर्क गाउँपालिका–६ सल्ले घर भएकी राई ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उनी पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन् । ज्ञातमनिका मामाका छोरा विनोदले आफ्नो घरमा सुन्नीमा होटेल नामको खाजा नास्ता पसल पनि सञ्चालन गर्नुभएको छ । २ वर्षअघि पहाडबाट झरेकी ज्ञानमति नास्ता पसलमा दाजुलाई सहयोग गर्दै उहाँकै घरमा बसेर पढ्ने गरेको डिएसपी दाहालले बताउनुभयो ।























