दिपेन्द्रबहादुर बराईली
उर्लाबारी । सार्वजनिक निकायका सूचना सञ्चारकर्मी मात्र होइन हरेक नागरिकले सहजै पाउनुपर्ने हो । तर, उर्लाबारी नगरपालिकाले भने संविधानप्रदत्त सूचनाको हक कार्यान्वयन्नमा आनाकानी गर्ने गरेको छ ।
सूचना मागेको २२ दिनपछि उर्लाबारी नगरपालिकाका सूचना अधिकृत भरत अधिकारीसँग बुझ्दा बिर्सिएछु पो भन्दै हल्ला रुपमा लिनुभयो । पूर्वी कमान्ड मिडिया प्रा.लि.ले २२ दिन अगाडि उर्लाबारी नगरपालिकाका सबैभन्दा बढी कर तिर्ने व्यवसायी र ब्यक्तिहरुको विवरण, हालसम्म संचार क्षेत्रमा गरेको खर्चको सम्पूर्ण विवरण, नगरपालिकाका कर्मचारी , जनप्रतिनिधि , दमकल , एम्बुलेन्स , शववहाक , नगर प्रमुख, उपप्रमुखले इन्धनमा गरेको खर्चको विवरण र खेलकुद क्षेत्रमा अहिलेसम्म भएको खर्चको विवरणलगायत माग गरेको थियो । समाचार सम्प्रेषणका लागि आवश्यक तथ्यांकसहितको सूचना माग गरेको भएपनि सूचना अधिकृत अधिकारीले आफूले बिर्सिएको भनेर टार्न खोज्नुभएको छ । यो घटना नयाँ भने होइन केही महिना अगाडि सोही प्रक्रिया मार्फत विभिन्न शिर्षकमा सूचना माग गर्दा पनि अधिकृत अधिकारी गैरजिम्मेवारी तरिकाले प्रस्तुत हुनुभएको थियो । अधिकारीले उक्त शिर्षकका सूचनाहरु जटिल बिषयको भएको र उपलब्ध गराउन कठिन हुने समेत भन्न भ्याउनुभयो । उक्त बिषयमा नगर प्रमुखसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।























