सरोज बस्नेत
उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको भदौं ८ र ९ गते ३६ औं चुनाबी साधारणसभा हुने भएपछि चुनाबी सरगर्मी बढेको छ ।
विभिन्न पार्टी समर्थक तथा स्वतन्त्र उम्मेद्वारहरु चुनाबी मैदानमा उत्रिएका छन् । उम्मेद्वारहरुले व्यवसायी तथा उद्योगीहरुसँग भेटघाट तथा छलफल गरिरहेका छन् । नेपाली कांग्रेसनिकट ब्यवसायीहरुको तर्फबाट पूर्व बरिष्ठ उपाध्यक्ष तारामान सेरङलाई अध्यक्षको उम्मेद्वार बनाइएको छ भने सोही पार्टी समर्थक विनोद न्यौपानेले स्वतन्त्र उम्मेद्वारी घोषणा गरी चुनाबी मैदानमा उत्रिसक्नुभएको छ । उहाँ संघको पूर्व बरिष्ठ उपाध्यक्ष एबं वर्तमान कानुनी सल्लाकार हुनुहुन्छ ।
त्यस्तै, एमाले निकट ब्यवसायीहरुको तर्फबाट राम थापा अध्यक्ष पदको उम्मेद्वार बन्नुभएको छ । उहाँ संघको पूर्व महासचिब हुनुहुन्छ । त्यस्तै, नेकपा माओवादीको तर्फबाट यामलाल रसाईलीलाई अध्यक्ष पदको उम्मेद्वार बनाउने निर्णय गरिएको छ । रसाईली वर्तमान बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।
त्यस्तै, पूर्वअध्यक्ष धर्मराज शाक्यले पनि अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । निर्वाचन समितिको सदस्य राखेपछि असन्तुष्ट बन्दै उहाँले आफ्नो उम्मेद्वारी कायम रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस समर्थक ब्यवसायीहरुको तर्फबाट अध्यक्षबाहेक अन्य उम्मेद्वारको टुंगो लागेको छैन । एमालेले भने अध्यक्षमा थापा र महासचिबमा सम्झना खतिवडालाई उठाउने निर्णय गरेको छ । त्यसबाहेकका पदमा उम्मेद्वारको टुंगो लाग्न सकेको छैन ।
त्यस्तै, माओवादीले अध्यक्षमा रसाईलीसहित महासचिबमा पवन चौधरी, कोषाध्यक्षमा राधिका काफ्ले, सदस्यहरुमा बासु घिमिरे, बुलन पासवान, लोकनाथ पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
वर्तमान सदस्य नुतन राईले महासचिबमा उम्मेद्वारी दिने घोषणा गरिसक्नुभएको छ । उहाँले उम्मेद्वारी घोषणासहित ब्यवसायी तथा उद्योगीहरुसँग छलफल र भेटघाट गरिरहनुभएको छ । त्यस्तै, बरिष्ठ उपाध्यक्षमा ज्ञानु श्रेष्ठ, कोषाध्यक्षमा दशरथ यादब (बेचन), सदस्यमा दिपक कार्कीलगायतले उम्मेद्वारी घोषणा गरिसक्नुभएको छ । अध्यक्ष पदमा ५ जनाको उम्मेद्वारी घोषणासँगै चुनाबी माहोल तातेको छ । गत निर्वाचनमा पराजय भोग्नुभएका सेरेङ यस पटक निर्वाचन जित्दै संघको नेतृत्वमा पुग्ने दाउमा हुनुहुन्छ भने न्यौपाने पनि यस पटक अध्यक्ष हत्याउने योजनामा हुनुहुन्छ । कांग्रेसबाट दुई जना अध्यक्ष पदमा उम्मेद्वार परेका कारण पनि एमालेका थापाले जित्ने दाबी गरिएको छ भने माओवादीका रसाईली पनि बलियो उम्मेद्वार मानिनुहुन्छ । यसकारण पनि निर्वाचन कसले जित्छ यसै भन्न सकिने अवस्था नरहेको जानकारहरु बताउँछन् ।























