उर्लाबारी । उर्लाबारीका युवा व्यवसायी नुतन राई व्यापारी माझ परिचित नाम हो । उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै जाँदा महासचिवको उम्मेद्वारी घोषणा गरेपछि उहाँको चर्चा चुलिएको छ।
उर्लाबारी–५ चौकमा पर्शु किराँत ट्राभल्स एण्ड टुर्स सञ्चालन गर्दै आउनुभएका राई लामो समयदेखि ब्यापार ब्यवसाय गर्दै आउनुभएको छ । उहाँले तमाम ब्यवसायीहरुका समस्या समाधानका लागि सम्बन्धित स्थानमा आवाज बुलन्द गर्न महासचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेको बताउनुहुन्छ । गत निर्वाचनमा सदस्य पदमा निर्वाचित भई व्यापारी व्यवसायीका हकहित, विकृति, विसंगतिको बारेमा दर्बिलो आवाज उठाउनु भएका उहाँ सबैको साथ र सहयोगले महासचिव पदमा चुनाब जित्नेमा आशावादी छन् ।
एक दशकभन्दा बढीदेखि व्यापार व्यवसायमा लाग्नु भएका राई कुशल, असल व्यवसायीका रुपमा चिनिनुहुन्छ । व्यापारी, व्यवसायीका समस्या समाधान गर्न अहारोत्र खट्ने राई विभिन्न संघ संस्थामा रहेर सक्रिय योगदान गरिसक्नु भएको छ । राई संघमा गएर केही गरौं भन्ने सोचाइका साथ अघि बढिरहनुभएको छ । पहिलो पटक संघको कार्यसमिति सदस्य बनेर खरो र दह्रो आवाज बुलन्द गर्नुभएका राईले संस्थामा गएर थपडी बजाउने मात्र होइन, केही काम गरेर देखाउने अठोट लिनुभएको छ । संघमा आवद्ध नभएका व्यापारीलाई आवद्ध गराउँदै जाने, सदस्यता लिएपनि संघको पहुँचबाट टाढा रहेका व्यापारीलाई संघ मेरो हो भन्ने अपनत्व गराउने लक्ष्यका साथ उहाँ अघि बढिरहनुभएको छ । २०४८ साल मंसिर १५ गते भोजपुरको पौवादुङ्मामा जन्मिनुभएका नुतन राई (पिके) यतिबेला पूर्वी नेपालका चर्चित युवा व्यवसायीका रूपमा परिचित हुनुहुन्छ । बुबा जितेन राई र माता सुनिता राईको कोखबाट जन्मिनु भएका राईले बाल्यकालदेखि नै सरल, दयालु र परिश्रमी स्वभावको प्रदर्शन गर्नुभएको थियो । यही गुणहरूले उहाँलाई सफल व्यवसायी बनाएको छ । राईको बाल्यकाल भोजपुरको सानोदुङ्मा गाउँमा बित्यो । सानै उमेरमा आमालाई गुमाउँदा पनि उहाँले कहिल्यै हार मान्नुभएन । उहाँ सधैं केही नयाँ र सकारात्मक गर्न चाहने युवामा पर्नुहुन्छ । संघर्ष र कठिनाइहरूलाई आफ्नो जीवनको हिस्सा मान्दै उहाँले आफ्नो मेहनत र लगनशीलता कहिल्यै गुमाउनु भएनन् ।
उर्लाबारी–५ चोकमा रहेको पिके ट्राभल्सको स्थापना राईको जीवनको महत्वपूर्ण उपलब्धि हो । सुरुवाती दिनमा त्यही ट्राभल्समा साधारण कामदारको रुपमा काम गर्नुभएका उहाँले आफ्नो मेहनत र कडा परिश्रमको बलमा क्षणिक समयमै त्यस ट्राभल्सलाई आफ्नो बनाउन सफल हुनुभयो । अहिले पिके ट्राभल्स पूर्वकै लोकप्रिय ट्राभल्सका रुपमा परिचित छ ।
नुतन राई पिके व्यवसायी मात्र होइनन्, उहाँ एक सक्रिय समाजसेवी पनि हुनुहुन्छ । उहाँले किरात राई यायोक्खा उर्लाबारीको कोषाध्यक्ष, मिरा राई फाउन्डेसनको संस्थापक कोषाध्यक्ष, सानो दुङ्गाली किरात राई सेवा समितिको संस्थापक सचिव, परिवर्तन टोल नानी बचाउ अभियानको संयोजक, ट्राभल एसोसिएसन बाटाको प्रदेश सदस्य तथा शितल राई बचाउ अभियानको संयोजकको रुपमा काम गर्नुभएको छ । यी सबै जिम्मेवारीहरूमा उहाँले उत्तिकै परिश्रम र इमानदारीपूर्वक काम गर्नुभएको छ ।
नुतन राईलाई तृषा नेपालले दुबईमा आयोजित एक कार्यक्रममा सफल व्यवसायीको रुपमा सम्मानित गरेको थियो । यो सम्मान उहाँको व्यवसायिक जीवनको महत्वपूर्ण मोड हो जसले उहाँलाई अझै उचाइमा पु¥यायो । उहाँले यस्ता धेरै सम्मान पुरस्कार पाइसक्नुभएको छ । उर्लाबारी उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य रहनुभएका नुतन राई पिकेले आगामी भदौ ९ गते हुने वाणिज्य संघको चुनावमा महासचिव पदका लागि उम्मेद्वारी दिने हुनुभएको छ । वाणिज्य संघमा हुने बेथितिका बारे सधै खरो भएर उभिने उहाँ अब आफैँ महासचिव भएर जाने र संघमा भएका बेथितिलाई उन्मूलन गर्ने योजनामा हुनुहुन्छ । नुतनको जीवन संघर्ष, मेहनत, र समर्पणको उदाहरण हो । उहाँले आफ्नो जीवनको हरेक पाटोलाई सकारात्मक ऊर्जा र आत्मविश्वासको साथ अघि बढाउनुभएको छ । २०६९ सालमा उर्लाबारी–४ निवासी छिरिङ डोल्मा तामाङसँग बिवाह गर्नुभएका उहाँका ३ छोरा छन् । सामाजिक कार्यमा उहाँको योगदान र व्यवसायिक सफलताले उहाँलाई उर्लाबारीको एक आदर्श व्यक्तित्वको रूपमा स्थापित गरेको छ ।























