उर्लाबारी । मोरङको उर्लाबारीमा एक युवाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा थप २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
साउन १५ गते मंगलबार करिब ७ः३० बजेको समयमा उर्लाबारी–४ का २१ बर्षीय कुशल दाहाललाई छुरा प्रहार गरी हत्या गरिएको थियो । उक्त हत्याको अभियोगमा उर्लाबारी–४ का २५ बर्षीय प्रविण बस्नेत र उर्लाबारी–७ का २८ बर्षीय काले भनिने आङ्सुहाङ देवानलाई पक्राउ गरिएको उर्लाबारी प्रहरीले जनाएको छ । यसअघि हत्याका मुख्य अभियुक्त सुवाश लामा ( तामाङ) पक्राउ गरिएको थियो । लामालाई सुन्दरहरैचा–४ दुलारीबाट पक्राउ गरिएको जनाइएको छ । थप २ जना फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
साउन १५ गते मंगलबार करिब ७ः३० बजेको समयमा दाहालमाथि छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट गम्भिर घाईते बनेका दाहाललाई उपचारको लागि तत्काल उर्लाबारी–५ स्थित गोदावरी अस्पताल लगिएको थियो । गोदावरीमा उनको उपचार सम्भव नभएपछि दमकस्थित लाईफ लाइन अस्पताल रिफर गरिएको थियो । लाईफ लाइनमा समेत उनको उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि झापास्थित वि.एण्ड.सी. अस्पताल लगिएतापनि उपचारको क्रममा सोही दिनको राती ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार पक्राउ परेका उर्लाबारी–५ निवासी ३५ बर्षीय लामा अपराधिक पृष्ठभुमीका हुन् । उनी यसअघि करिव १० वर्ष कैद सजाय भोगेर केही समयअघि मात्रै रिहाई भएका थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७६ फागुन ७ गतेको प्रजातन्त्र दिवसमा आममाफी पाएर छुटेका उर्लाबारी नगरपालिका–५ का ३५ वर्षीय लामाले एकपछि अर्को अपराधको श्रृंखलालाई निरन्तरता दिँदै गम्भीर अपराध दोर्होयाएका हुन् । मदिरा पिएर आफ्नै साथीलाई हत्या गरेपछि कर्तव्य ज्यान मुद्दामा १० वर्षका लागि जेल परेका उनी २०७६ फागुनमा राष्ट्रपतिबाट आममाफी पाएर छुटेका थिए । सरकारले आममाफीका लागि योग्य ठानेर जेलबाट छाडिएका उनले यही मंगलबार अर्को जघन्य अपराध गर्दै एक युककको ज्यान लिएका हुन् ।























