उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको महासचिब पदका उम्मेद्वार नुतन राई (पिके) ले आश्वासन बाँड्ने मात्रै होइन, समस्यामा परेका उद्योगी व्यवसायीहरूको हितमा काम गरेर देखाउने बताउनुभएको छ ।
उद्योगी तथा ब्यवसायीहरुलाई भोट माग्दै उहाँले भन्नुभयो–‘ढाँट्ने, छल्ने र आश्वासन मात्र बाँड्ने काम हुँदैन, अब आम ब्यवसायी तथा उद्योगीहरुको हितमा काम गर्नुपर्छ, त्यसैका लागि तयार भएर महासचिबको उम्मेद्वार बनेको छु, यो पटक सहयोग गर्नुहोस् ।’ सामाजिक काममा तन, मन र धन लगाएर सधैँ लागि पर्ने उहाँ भदौं ९ गते हुने उर्लाबारी उद्योग बाणिज्य संघको महासचिब पदको बलियो उम्मेद्वारको रुपमा हेरिएको छ ।
गत निर्वाचनमा सदस्य पदमा राम्रो मत पाएर विजयी हासिल गर्नुभएका उहाँले आफ्नो क्षमताले भ्याएसम्म उद्योगी व्यवसायीको हितमा काम गरेको दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘उर्लाबारी क्षेत्रका उद्योगी व्यवसायीको वास्तविक पीरमर्का मलाई राम्रोसँग थाहा छ । मेरो महासचिब पदमा दिइएको उम्मेद्वारी मतका लागि आश्वासन बाँड्ने मात्रै होइन, समस्यामा परेका उद्योगी व्यवसायीहरूको हितका काम गर्नकै लागि हो ।’
निर्वाचनका बेलामा केके न गर्छु भन्ने र विजयी भएपछि हल्लाखल्ला बाहेक माखो मार्न नसक्ने उद्योगी व्यवसायीहरूको नेता बन्ने रहर आफूमा फिटिक्कै नभएको राईको भनाई छ । उहाँ भन्नुहुनछ ‘म थोरै बोल्छु । तर बोलेको कुरा पूरा गर्छु । झुटा कुरा गरेर म मतदाताहरूको अमूल्य मतको अवमूल्यन कुनै पनि हालतमा गर्दिनँ । यो कुरा सबैले लेखेरै राखे पनि फरक पर्दैन ।’
स्वतन्त्रतर्फबाट महासचिबका उम्मेद्वार बनेका राईले उद्योगी तथा ब्यवसायीहरुको साथ र सहयोगले निर्वाचन जित्ने बताउनुहुन्छ ।























