उर्लाबारी । पछिल्लो समय जन्मदिन मनाउने शैलीमा परिवर्तन आउन थालेको छ । आफ्नो जन्मोत्सवको अवसरमा गरिने भड्किलो खर्च देखावटी रङ्गीचङ्गी र रमाइलोको साटो समाजिक सेवा भावमा प्रेरित हुन थालेका दृश्यहरु देखिँदै आएका छन् । मोरङको उर्लाबारी–७ का दिनेश श्रेष्ठले आफ्नी छोरी दृष्टी श्रेष्ठको १३ औं जन्मदिन नमूना बाल गृहका बालबालिकासँग खुशी साटेर मनाइदिनुभएको छ ।
उर्लाबारी–७ मा रहेको गृहमा आश्रित बालबालिकाहरुलाई भोजन, खेलकुद तथा योगामा विजेताहरुलाई प्रोत्साहनवापत ट्याकसुट वितरण गरिएको छ । उर्लाबारी क्षेत्रका सामाजिक व्यक्तित्व जयधर्म आचार्य र बीरबल थापाले जन्मदिनमा रचनात्मक कार्य गरी उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । फजुल खर्च गर्नुभन्दा दिनदुखीलाई सहयोग गरेमा पून्य प्राप्त हुने र उनीहरुले दिएको आर्शिवाद आफ्नो जीवनलाई प्रेरणाको स्रोत बन्ने ठानेर आश्रममा पुगेर छोरीको जन्मदिन मनाएको श्रेष्ठको भनाई छ । जन्मदिन लगायत विभिन्न अवसरमा गरिने खर्चलाई सामाजिक क्षेत्रमा उपयोग गरेमा समाजप्रतिको उत्तरदायित्व पुरा हुने उहाँको भनाई छ ।























