उर्लाबारी । मोरङको उर्लाबारी–७ मा रहेको नेपाल दर्शन कलेजले विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम गरेको छ ।
शनिबार उर्लाबारी–७ कै उर्लाबारी पार्टी प्यालेसमा कक्षा ११ र बिबिएस प्रथम वर्षमा अध्ययनरत नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा १२ कक्षा अध्ययन पुरा गरेका विद्यार्थीलाई विदाई गरिएको हो । उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिनाकुमारी खतिवडा पौडेलको प्रमुख आतिथ्यता एबं प्राचार्य सविना खड्का कार्कीको सभापतित्वमा भएको उक्त कार्यक्रममा विज्ञान र व्यवस्थापन दुवै संकायअन्तर्गत कक्षा ११ र १२ को वार्षिक परिक्षामा प्रथम, द्वितिय र तृतिय स्थान हाँसिल गर्ने र ११ कक्षाको ईन्ट्रान्स परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई अभिभावकसहित पुरस्कृत गरिएको थियो । सोही अवसरमा कलेजका शिक्षक रत्नबहादुर थापा, श्यामबहादुर बस्नेत र राजेश पौडेललाई समेत सम्मानित गरिएको थियो ।
कार्यक्रममा नृत्य, गायन, साहित्यीक वाचनलगायतका विभिन्न कलाहरु प्रस्तुत गरेर सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । अभिभावक चुडामणि सापकोटाले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीहरुको पढाईका विषयमा आफ्नो धारणा राख्नुभएको थियो भने स्वागत मन्तव्य कलेज कोअर्डिनेटर गोविन्द भट्टराईले राख्नुभएको थियो । कलेजका शिक्षक नवराज भट्टराई र विद्यार्थी मुकुन्द निरौलाको सञ्चालन गर्नुभएको सो कार्यक्रममा सहायक क्याम्पस प्रमुख दुर्गाप्रसाद पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । २०५४ सालमा स्थापित सो कलेजमा हाल ४ सय ५० भन्दा बढि विद्यार्थी अध्ययनरत रहेको सञ्चालक प्रकाश कार्कीले जानकारी दिनुभयो ।























