उर्लाबारी । भदौं ९ हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनका लागि लोकतान्त्रिक समावेशी साझा व्यवसायी गठबन्धनको पक्षमा माहोल उर्लिएको छ ।
गठबन्धनले अध्यक्ष पदमा तारामान सिरेङ लिम्बूको नेतृत्वमा १६ पदका लागि उम्मेदवारी दर्ता गरी उद्योग तथा व्यवसायीहरुलाई भोट मागिरहेका छन् । बरिष्ठ उपाध्यक्षमा निर्मला चौहान (निरु), उद्योग वाणिज्य उपाध्यक्षमा प्रभु राई (दिलुङ्छा), वाणिज्य उपाध्यक्षमा रामप्रसाद राई (बाङगाई), महासचिबमा पवन चौधरी, उद्योग सचिवमा भेषबन्धु निरौला, वाणिज्य सचिवमा राजकुमार श्रेष्ठ (मकै) र कोषाध्यक्षमा दशरथ यादव (बेचन) उम्मेद्वार रहनुभएको छ । त्यस्तै, सदस्य पदमा केशव भट्टराई, मदनप्रसाद दाहाल, दिपेन्द्र कार्की (दिपक), फुर्वा तामाङ (छिरिङ) र सोमबहादुर गजमेरले उम्मेदवार रहनुभएको छ । लेखा समिति संयोजकमा मनोज लुइटेल, सदस्य पदमा बासु घिमिरे र मोहनलाल पाठक उम्मेदवार रहनुभएको छ । लोकतान्त्रिक समावेशी गठबन्धनले आफ्नो प्यानल प्रस्तुत गर्दै व्यवसायिक हितका लागि विभिन्न कार्यक्रम सार्वजनिक समेत गरिसकेको छ प्यानलका प्रतिबद्धतामा व्यवसायीहरुको दुर्घटना बीमा, सदस्यता नवीकरण शुल्कमा ५० प्रतिशत कटौती, सन्ध्याकालिन बजार सञ्चालन, कृषि बजार व्यवस्थापन, स्थानीय महिला उद्यमीलाई सिप तथा आयमूलक कार्यक्रम, उज्यालो अभियान, लगानीमैत्री वातावरण निर्माण र विभिन्न महोत्सवहरू सञ्चालनको योजना रहेका छन् । गठबन्धनको तर्फबाट उम्मेद्वारले चुनावमा विजय भएपछि कर्तव्यनिष्ट भएर व्यापारीहरुको हितमा समर्पित हुने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार सिरेङले व्यापारीहरुको हकहितमा सधैं इमान्दार भएर लाग्ने दृढता व्यक्त गर्नुभयो । माओवादीका केन्द्रीय सदस्य विषेन्द्र चेम्जोङ, कांग्रेसका कोशी प्रदेशका प्रदेश सहमहामन्त्री तथा उर्लाबारीका पूर्व मेयर खड्गबहादुर फागो, राप्रपाका कोशी प्रदेश कोषाध्यक्ष पूर्ण वाइबालगायतले वर्तमान परिस्थितिमा सबैजना एक भएर व्यापारीहरुको हकहितमा गठबन्धनका उम्मेद्वारहरु लागि पर्ने उल्लेख गर्दै सबै पदमा मतदान गर्न अपिल गर्नुभएको छ । कांग्रेसका उर्लाबारी सभापति सुरेन्द्र लिम्बू, माओवादी केन्द्रका कार्यवहाक अध्यक्ष टेकबहादुर भट्टराई, राप्रपाका ज्ञानेन्द्र ओली लगायतले गठबन्धनका व्यवसायीहरु समस्त इमान्दारितापूर्वक लागेको खण्डमा जीत सुनिश्चित हुने बताउनुभयो ।























