
रुपेन्द्र शेर्मा
मुलुकमा बहुदलीय प्रजातन्त्र पुनस्थार्पना भएपश्चात् धरैवटा निर्वाचनहरुमा भाग लिने अवसर मिलेको छ–एउटा मतदाताका रूपमा ।
चाहे संसदीय निर्वाचन होस्, चाहे स्थानीय र प्रदेशको ।
यतिमात्रै होइन, विद्यार्थी जीवनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र पत्रकारिता पेशामा आवद्ध भएपछि नेपाल पत्रकार महासंघको निर्वाचनहरुमा समेत भाग लिने अवसर मिलेको छ–केवल मतदाताका रूपमा ।
नढाँटीकन भन्नुपर्दा कतिपय उम्मेदवारहरुलाई खुलेरै सहयोग पनि गरियो, त्यसक्रममा सहयोग गरेका कतिपय उम्मेदवारले चुनाव पनि जिते । तर माखो मारेन । त्यसैले राजनीति प्रति नै वितृष्णा जागेको छ, मलाई जस्तै अधिकांश नेपाली नगारिकहरुलाई पनि यस्तै लाग्दो हो शायद ।
तर वहुदलीय प्रजातान्त्रिक संस्कारमा हुर्किरहेका हामी नेपाली नागरिक निर्वाचन प्रणालीबाट भागेर धरै छैन । त्यसैले हामीले निर्वाचनलाई स्वीकार गर्नैपर्ने हुन्छ एउटा मतदाताका रुपमा भएपनि ।
अव प्रसंग तिर लागौं ।
अहिले उर्लाबारी उद्योग वाणिज्य संघको आगामी भदौ ९ गते हुने निर्वाचनतर्फ सबैको चासो बढेको छ । यीनै जनचासो, जनअभिरुची र जनगुनासो नै पत्रकारिताको मुख्य प्राथमिकतामा पर्ने गर्छ । त्यसैले त्यस विषयमा थोरै अक्षर कोर्ने अनुमति चाहान्छु ।
संघको निर्वाचनमा कार्यसमिति र लेखा समिति गरी १६ पदमा उम्मेदवार माग गरिएको छ । अव १६ वटा पदमा उम्मेदवार वन्ने ईच्छा देखाएका सबै मित्रहरुको बारेमा धारणा राख्दा लेख निकै लामो हुनसक्छ । पाठक महोदयहरुलाई झर्को लाग्न सक्छ । त्यसैले अहिलेको लागि अध्यक्षका एक उम्मेदवारका बारेमा मात्र म लेख्न गइरहेको छु । कृपाय कोहीपनि नरिसाइदिनुहोला ।
यो लेख कुनै आग्रह पूर्वाग्रहबाट निर्देशित भने पक्कै होइन । यदी त्यस्तो बुझाई हो भने सुरु मै माफी चाहान्छु ।
अव कुरा सुरु गरौं ।
गएको तिहारमा लक्ष्मी पुजाका रात उर्लाबारी–७ का दिपक कार्कीले सञ्चालन गरेको सुनचाँदी पसलमा आगलागि हुँदा जती साथीहरुले ज्यान गुमाए, जती साथीहरु नराम्ररी घाइते भए–एउटा व्यापारीलाई पर्दा प्राणको वाजी लगाएर उद्धारमा खटिएका थिए उनीहरु । उर्लाबारीको व्यापारिक वृतमा अहिलेसम्मकै हृदयविदारक र कहालिलाग्दो घटना हो यो । एकदमै अप्रिय घटनाका रुपमा सारा उर्लाबारीवासीको मनमष्तिस्कमा अझै नमिठो झलझली आइरहेको छ । ज–जसले ज्यान गुमाए, जो–जो घाइते भए उनीहरु पक्कैपनि एउटा छिमेकीलाई पर्दा वा एउटा व्यापारीलाई पर्दा प्राणको वाजी लगाएर उद्धारमा खटिएका थिए । तीनै व्यक्तिहरुमध्ये एक हुन्–तारामान सेरेङ ।
यीनै तारामान आगामी भदौ ९ हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षका उम्मेदवार वनेका छन् । एउटा व्यापारीलाई पर्दा प्राणको वाजी लगाउने तारामान संघको एक कार्यकाल अध्यक्ष भएर काम गर्छु भन्दा हामीले सहयोग गर्ने की नगर्ने ?
यसकारण तारामानलाई स–सम्मान अध्यक्षमा मतदान गर्न सबै उद्योगी व्यापारी मित्रहरुमा हार्दिक अपिल गर्दछु । उनलाई विजय गराउनु नै आगलागि घटनामा ज्यान गुमाएकाहरु प्रति सच्चा श्रद्धाञ्जली हुनेछ । धन्यवाद ।