उर्लाबारी । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चण्डीप्रसाद ढकालले केन्द्रमा प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने नीति बनाउन लागिएको जानकारी दिएका छन् ।

उनले आगामी दिनमा महासंघको अध्यक्ष पदमा प्रत्यक्ष निर्वाचनमार्फत चयन गरिने योजना बनिरहेको बताएका छन् । यो नीति लागू भएपछि महासंघको नेतृत्व चयन प्रक्रियामा पारदर्शिता बढ्ने अपेक्षा गरिएको र सदस्यहरूको सीधा सहभागिता सुनिश्चित हुने बताउँदै अध्यक्ष ढकालले यस योजनालाई महासंघको संस्थागत सुधार र सशक्तिकरणतर्फको महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेका छन्।
उनलेे उर्लाबारी उद्योग वाणिज्य संघको ३६ औँ साधारण सभामा सो कुरा बताएका हुन्। केन्द्रीय अध्यक्ष ढकालले “निजी क्षेत्रलाई साँघुरो बनाइनुहुन्न” भन्ने धारणा राख्दै निजी क्षेत्रको स्वतन्त्रता र महत्वलाई उजागर गरेका छन् । उनले निजी क्षेत्रलाई विकासको महत्वपूर्ण अंगको रूपमा हेरिनुपर्ने र यसलाई विस्तार गर्न प्रोत्साहन दिनुपर्ने बताएका छन् । साथै, उनले सरकारी नीति, नियम र नियन्त्रणले निजी क्षेत्रलाई सीमित गर्नुभन्दा पनि तिनीहरूलाई सहयोगी वातावरण प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । निजी क्षेत्रको वृद्धि र समृद्धिका लागि सकारात्मक सन्देश दिन सके केही गरौं भन्नेहरूलाई हौसला मिल्ने उनले बताएका छन्। उनले सम्पूर्ण व्यापारीहरूलाई आग्रह गर्दै सामूहिक ढङ्गले अगाडि बढ्नुपर्ने बताएका छन् ।
सो कार्यक्रममा केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, शंका कोशी प्रदेश अध्यक्ष राजेन्द्र दाहाल,कोशी प्रदेश सांसद उमाकान्त गौतम,संघका केन्द्रीय सदस्य तथा घरेलु उद्योगका सभापति नरेन्द्र खड्का, राजनैतिक दलहरूका तर्फबाट जनता समाजवादी पार्टी उर्लाबारी नगर कमिटीका अध्यक्ष मातृकाप्रसाद धिमाल, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख गोपाल शाक्यलगायतले बोलेका छन् ।त्यसैगरी उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेलले उद्योग वाणिज्य संघको निर्वाचनमा केही सदस्यहरूले अन्य सदस्यहरूको सदस्यता नवीकरण आफैँले गरेर हिँड्ने गलत कार्य भइरहेको बताएका छन् । यसले निर्वाचन प्रक्रियामा अनियमितता र पारदर्शिताको अभाव खड्कीने बताएका छन् । उनले यस्तो क्रियाकलापलाई अस्वीकार गर्दै यसले संघको सदस्यहरूको वास्तविक इच्छा प्रकट हुन नसक्ने खतरा रहेको औंल्याएका छन्। यस्तो कार्यलाई रोक्न आवश्यक कदम चाल्नुपर्नेमा उनले जोड दिएका छन् । उनलेे उर्लाबारी नगरपालिकाले व्यवसायीको हितमा काम गर्न उद्योग वाणिज्य संघसँग सकारात्मक रहेको र सहकार्य गर्दै स्थानीय व्यवसायको प्रवर्द्धन र संरक्षण गर्न तत्पर रहेको बताएका छन्। व्यवसायीहरूको समस्याहरू समाधान गर्न, उनीहरूको व्यावसायिक वातावरण सुधार्न र आर्थिक गतिविधिहरूलाई प्रोत्साहन दिन संघसँग मिलेर काम गर्न नगरपालिका तत्पर रहेको र यो सहकार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनुका साथै व्यावसायिक समृद्धिमा योगदान पुर्याउने उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय