उर्लाबारी । मोरङको उर्लाबारीमा यही फागुन १५ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव २०८१ को तयारी पूरा भएको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा उर्लाबारी–४ आइतबारे स्थित उर्लाबारी नगरपालिका दक्षिण क्षेत्रमा हुने उक्त महोत्सवको तयारी पूरा भएको हो । उर्लाबारी बजार सौन्दर्यकरण र आगो निभाउने उपकरण रिफिल गर्ने मेसिन खरिद सहयोगार्थ हुन लागेको महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त विदेशका वस्तु र पहाडी जिल्लाका खनिजजन्य, स्थानीय कृषिजन्य र अन्य उत्पादनका स्टल रहने उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङले जानकारी दिनुभयो । उत्पादक र उपभोक्ताबीच सुमधुरसम्बन्ध कायम गर्ने गर्दै पछिल्लो समय बजारमा देखिएको आर्थिक अस्थिरतालाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको उहाँको भनाई छ । बिहीबार महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । उद्घाटन दिनमा गायक तथा संगीतकार राजनराज शिवाकोटी र नन्दु गुरुङको प्रस्तुति रहने प्रचारप्रसार समितिका संयोजक कुमार खड्काले जानकारी दिनुभयो ।























