उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिकामा अत्याधुनिक संरचनासहित निर्माण गरिएको प्रशासकीय भवनको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको सो भवनको उद्घाटन एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई, गाउँपालिकाका अध्यक्ष बबि कुमार राई, उपाध्यक्ष दिनेश पौडेल, प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर लगायतले संयुक्त रूपमा उद्घाटन गरेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, गाउँपालिकाका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
२०७७ साल फागुन महिनाबाट निर्माण सुरु भएको यो भवन तीन तले छ, जसमा जम्मा २० वटा कोठाहरू रहेका छन्। करिब ३ करोड ७३ लाख ४२ हजार रुपैयाँको लागतमा सम्पन्न भएको उक्त भवनमा आधुनिक सुविधासम्पन्न कार्यालय कक्ष, बैठक हल तथा सेवा केन्द्रहरू रहेका छन्।
उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष बबि कुमार राईले स्थानीय सरकारको कार्यदक्षता वृद्धि गर्ने र नागरिक सेवामा पहुँच सहज बनाउने दिशामा यो भवन मीलको ढुङ्गा सावित हुने विश्वास व्यक्त गरे। उपाध्यक्ष दिनेश पौडेलले गाउँपालिकाको प्रशासनिक कामकाजलाई सुदृढ बनाउन नयाँ भवनको निर्माण अत्यन्त आवश्यक रहेको र अब सेवा प्रवाहमा गति आउने बताए।
प्रमुख अतिथि अजम्बर राईले संघीयता सफल पार्न स्थानीय तहको सुदृढ संरचना अपरिहार्य रहेको उल्लेख गर्दै मिक्लाजुङ गाउँपालिकाले यो भवन निर्माणमार्फत उदाहरणीय पहल गरेको बताए।
कार्यक्रमका अवसरमा हालै सम्पन्न प्रथम अन्तर पालिका “चुलाचुली अध्यक्ष कप” पुरुष नकआउट फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। यस अवसरमा युवा प्रतिभाहरूलाई खेलकुदतर्फ अभिप्रेरित गर्न आयोजित सम्मान कार्यक्रममा सहभागीहरूमाझ हर्ष र उत्साह देखिएको थियो।
समारोहमा जिल्ला समन्वय समितिकी उपप्रमुख उषा झा, गाउँपालिकाका पूर्व अध्यक्ष देवि प्रसाद आचार्य, पूर्व उपाध्यक्ष सरला राई, वडा अध्यक्षहरू, गाउँपालिकाका विभिन्न कर्मचारी, संघसंस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
नयाँ भवनको उद्घाटनसँगै मिक्लाजुङ गाउँपालिकाले नागरिक सेवामा गुणस्तरीयता र पारदर्शिता ल्याउने दिशामा नयाँ पाइलाहरू चाल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय