मोरङ — मोरङको रतुवामाई नगरपालिकाले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नगर क्षेत्रमा दीर्घकालदेखि सडक छेउमा बसेर जुत्ता–चप्पल, छाता, टर्च लगायत सामग्री मर्मत गर्दै आएका मोची समुदायका श्रमिकहरूलाई सम्मान गरेको छ।
‘श्रमको सम्मान : राष्ट्रको अभियान’ अन्तर्गत रतुवामाई–७ स्थित सिंजुवा स्वास्थ्य चौकीको परिसरमा आयोजित कार्यक्रममा बहादुर मोची, भोगेन्दर मोची, गणेशीराम मोची, बेचनलाल मोची, राजकुमार सार्की, सामेल मोची, चतुरमान मोची, विजयकुमार मोची लगायत नौ जना श्रमिकहरूलाई सम्मान प्रदान गरिएको हो।
उनीहरूलाई नगर प्रमुख नागेश्वरप्रसाद सिंह गनगाई, उपप्रमुख दमयन्ता देवी चुडाल र प्रमुख प्रशासकीय अधिकृत डम्बरुवल्लभ बरालले चारवटा प्लास्टिकका पिरा, एक ठुलो छाता, एक थान टीसर्ट र मर्मत सामग्री राख्ने जस्ताको बाकस प्रदान गर्दै सम्मान गरे।
कार्यक्रममा बोल्दै नगर प्रमुख गनगाईले जात, वर्ग वा पेशा जे भए पनि सबै श्रम गरिमायुक्त हुने बताउँदै अब नगरपालिका बौद्धिक मात्र होइन, सबै प्रकारका श्रमको सम्मानमा अग्रसर भएको बताउनुभयो। “हामीकहाँ बौद्धिक श्रमिकलाई मात्र सम्मान गर्ने चलन थियो, त्यो पुरानो सोच नगरपालिकाले तोडेको छ,” उहाँको भनाइ थियो।
प्रमुख प्रशासकीय अधिकृत डम्बरुवल्लभ बरालले वास्तविक श्रमिकको पहिचान गरी सम्मान गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो। “यस्ता श्रमिकहरू सधैं समाजको छायाँमा पर्छन्, आज उनीहरूलाई अगाडि ल्याएर हामीले साँच्चैको श्रमिक सम्मान गरेका छौं,” उहाँले भन्नुभयो।
सम्मानित श्रमिकहरूले पनि खुशी व्यक्त गर्दै यस्तो सम्मान पहिलोपटक पाएको भन्दै नगरपालिकाप्रति आभार व्यक्त गरे। “हामीले पनि कामको इज्जत पाएका छौं भन्ने महसुस भयो,” एक सम्मानित मोचीले भने।
रोजगार संयोजक प्रदिप पराजुलीले श्रमको मूल्य र सम्मानलाई समाजमा स्थापित गर्न नगरपालिकाले यो कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो। उहाँका अनुसार, यस प्रकारको पहलले श्रमिकहरूमा आत्मविश्वास थपिने र समाजमा व्यावसायिक श्रमको गरिमा बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय