
विराटनगर/ मोरङको जिल्ला कारागारमा एक साताभित्र दुई थुनुवाको मृत्यु भएको छ ।
आइतबार बिहान ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको कोशी अस्पतालमा मृत्यु भएको हो । मृतक रामेछाप दोरम्बा–सैलुङ गाउँपालिका–२ का ५४ वर्षीय प्रवीण तामाङ रहेको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए ।
उनका अनुसार तामाङलाई शनिबार साँझ अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार बिहान करिब ४ बजे उनको मृत्यु भएको हो । “भर्ना गर्दा अवस्था सामान्य थियो,” ढुंगेलले भने, “अचानक मृत्युको खबर आयो ।”
तामाङविरुद्ध ठगीको मुद्दा विचाराधीन अवस्थामा रहेको थियो । उनलाई २०८१ साल पुस १६ गते अदालतको आदेशअनुसार मोरङ कारागार चलान गरिएको थियो ।
हाल शव कोशी अस्पतालमै राखिएको छ भने परिवारलाई खबर गरिसकिएको जेल प्रशासनले जनाएको छ ।
यसअघि वैशाख १५ गते मोरङकै उर्लाबारी–१ का ४३ वर्षीय मित्रकुमार दनुवारको मृत्यु भएको थियो । जबरजस्ती करणी मुद्दामा दोषी ठहरिएका दनुवार २५ वर्ष कैद सजाय सुनाइएपछि २०७८ असार ७ मा कारागार चलान भएका थिए ।
बिरामी भएपछि चैत १३ गते अस्पताल भर्ना गरिएका दनुवारको चैत १५ मा उपचारकै क्रममा निधन भएको थियो ।
जेलर ढुंगेलका अनुसार पछिल्लो समय कारागारभित्र मृत्युको दर बढ्दो छ । “राज्यको नियन्त्रणमा रहेका थुनुवाको अकालमा मृत्यु हुनु चिन्ताको विषय हो,” उनले भने ।
मोरङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिँदै आएको छ । ३०० जनाको क्षमताको कारागारमा हाल १,०३८ जना कैदीबन्दी छन् ।
जसमा ९२८ पुरुष, १०७ महिला र ३ जना नाबालक छन् । भीडभाडका कारण कैदीबन्दीलाई खान, बस्न र सुत्नसमेत समस्या भइरहेको कारागार प्रशासनको भनाइ छ ।