
रतुवामाई\विवाहको कार्यक्रम चलिरहेका बेला करेन्ट लागेर रतुवामाई नगरपालिकामा दुई महिलाको ज्यान गएको छ। मंगलबार राति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो।
स्थानीय मंगललाल सिंहका छोरा निरजकुमारको विवाहमा नाचगान भइरहेको बेला सो घटना भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार विवाह घरको छतमा हरियो बाँस गाडेर माइक बाँधिएको थियो। राति करिब ८ बजे आएको हावाहुरीले बाँस ढालेर हाइटेन्सन लाइनमा ठोक्किएकोले करेन्ट लागेर तीन महिला घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेमध्ये दुई जनाको उपचारका लागि रंगेली अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । करेन्ट लागेर घाइते ३० वर्षीया राधाकुमारी सिंह भने सामान्य उपचारपछि घर फर्किएकी छन्।