
पाँचथर । फिदिम नगरपालिका–११ स्थित एक माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्राले शौचालयमै शिशु जन्माएको घटना सार्वजनिक भएपछि गाउँमा सनसनी फैलिएको छ।
मंगलबार राति लप्सिबोटेमा आफन्तको घरमा बस्दै आएकी किशोरीले शौचालयभित्रै शिशु जन्माएकी थिइन्।
दुर्भाग्यवश नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिएका छन्। शिशु मृत फेला परेपछि प्रहरी चौकी नांगीनबाट खटिएको टोलीले ती किशोरी र उनीसँग बस्दै आएका एक आफन्तलाई नियन्त्रणमा लिएको छ।
हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। किशोरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ भने शिशुको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।
यस घटनाले स्थानीयवासीलाई गहिरो चकित तुल्याएको छ। यस्ता घटनालाई गम्भीर रूपमा लिँदै बालबालिकाको यौन शिक्षाको आवश्यकता र सुरक्षाको सवाल फेरि उठ्न थालेको छ।