काठमाडौं । पूर्णिमा राईको ह्याट्रिकसहित चार गोल तथा सेनु परियारको दुई गोल मद्दतमा नेपालले बंगलादेशमा आजदेखि सुरु भएको साफ यू-२० महिला च्याम्पियनसिपमा शानदार सुरुवात गरेको छ ।

च्याम्पियनसिपमा शुक्रबार नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६-१ ले हरायो ।

बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरेनामा भएको खेलमा नेपालले पहिलो हाफमै तीन गोल गरेको थियो । दोस्रो हाफमा नेपालले फेरि तीन गोल थप्दा भुटानले एक गोल गर्‍यो ।

सेनुले नवौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । वर्षा ओलीको पासमा सेनुले बल अघि बढाउँदै पेनाल्टी बक्स बाहिरबाट विपक्षी गोलकिपरलाई चिप गर्दै गोल गरिन् । यस्तै पूर्णिमाले १८औं मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । वर्षाले नै दायाँ भागबाट दिएको क्रसममा पूर्णियाले सिक्स यार्ड बक्सबाट वान टचमा गोल गरिन् ।

त्यसपछि सेनुले ४५औ् मिनेटमा गोल गर्दै नेपालको अग्रता ३-० पुर्‍याइन् । वर्षाले नै बक्स बाहिर दिएको पासमा सेनुले विपक्षी खेलाडीलाई छलाउँदै बल बक्स भित्र पुर्‍याएर व्यक्तिगत दोस्रो गोल गरिन् ।

दोस्रो हाफमा भुटानले गोल गर्दै खेलमा फर्कने संकेत गरेको थियो । केल्देन वाङ्मोले ५३औं मिनेटमा भुटानका लागि गोल फर्काइन् । तर नेपालले अझै गोल थप्यो ।

पूर्णिमाले ५३औं मिनेटमा गोल गरेपछि नेपालले ४-१ को अग्रता बनायो । पूर्णिमाले ८३औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि ८८औं मिनेटमा पूर्णिमाले आफ्नो चौथो गोल गर्दै नेपाललाई ६-१ को अवस्थामा पुर्‍याइन् ।

त्यस बाहेक नेपालले खेलमा गोल गर्ने अन्य राम्रा अवसरहरु गुमाउँदा गोल अन्तर फराकिलो पार्न सकेन । सुक्रिया मिया र वर्षा ओलीले पनि गोल गर्ने राम्रो अवसरमा चुकेका थिए ।

जितपछि नेपालले च्याम्पियनसिपमा ३ अंक जोडेको छ । आजै भएको पहिलो खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकालाई ९-० को फराकिलो अन्तरले हराएर शानदार सुरुवात गरिसकेको छ ।

नेपाल र बंगलादेशले समान ३ अंक जोडेपनि गोल अन्तरमा बंगलादेश अघि छ । नेपाल र बंगलादेशबीच दुई दिनपछि आइतबार खेल हुनेछ ।

च्याम्पियनसिपमा चार टोली सहभागि छन् र डबलराउण्ड रोविवनका आधारमा खेल खेलाइनेछ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय