उर्लाबारी । उर्लाबारी नगरपालकाले आज शोक विदा दिएको छ ।
उर्लाबारी नगरपालिका वडा नम्बर २ की वडा सदस्य हेमकुमारी नेपालीको निधन भएको थियो । क्यान्सर रोगबाट पीडित नेपालीको बिहिबार विहान घरमै निधन भएको हो । उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट दलित महिला सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।
उहाँको असामयिक निधनप्रति उर्लाबारी नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै वडा सदस्य नेपालीको निधनले सम्पूर्ण उर्लाबारीवासी मर्माहित र स्तब्ध बनेको जनाएको छ । उक्त सूचनामा नगरपालिकाले मृत आत्माको चिर शान्तिको कामना गर्दै नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय र मातहतका शैक्षिक संस्थाहरूमा एक दिन शोक विदा दिने निर्णय गरिएको जनाएको छ । शोक विदाको दिन अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा प्रवाह बन्द रहने नगरपालिकाले जनाएको छ ।























