दमक । झापाको दमक–४ स्थित भट्टराई कुलवंश प्रतिष्ठान, केन्द्रीय कार्यालयले कार्यालय सचिव दिपेन्द्र भट्टराईको आत्महत्या घटनालाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको भ्रामक र गैरजिम्मेवार प्रचारप्रति आपत्ति जनाएको छ ।
गत असार २२ गते अपरान्ह ४ बजे भट्टराई प्रतिष्ठानको कम्पाउण्डभित्र रहेको बाँसको झ्याङमा सोही ठाउँ बस्ने ५३ वर्षीय कार्यालय सचिव दिपेन्द्रले नाईलनको डोरीको पासो लगाई आत्महत्या गरेका थिए । सोही विषयमा प्रतिष्ठानले शनिबार पत्रकार सम्मेलन गरी दुःखद घटनालाई लिएर सामाजिक सञ्जाल र केही सञ्चारकर्मीहरूद्वारा बिना पुष्टि तथ्यहरू सार्वजनिक गर्नु अत्यन्त गैरजिम्मेवार र खेदजनक भएको जनाएको छ ।
घटनाको पूर्ण छानबिन र यथार्थ जानकारी नआउँदासम्म अनावश्यक हल्ला र अड्कलबाजी नगर्न सबैमा अपील गरेको छ । अध्यक्ष दुर्गाप्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘ हाम्रो सदस्यको असामयिक निधनले संस्था स्तब्ध छ । यो समय दोषारोपण होइन, सहानुभूति र संयम अपनाउने हो ।’
संस्थाका अनुसार दिपेन्द्र विगत लामो समयदेखि संस्थामा कार्यालय सचिवको रूपमा समर्पित रूपमा कार्यरत रहनुभएको थियो । दिपेन्द्र घटना भएको दिनसम्म पनि कुनै किसिमको बिचलित अवस्थामा नदेखिएको र घटना हुनु पूर्व पनि आफ्नो जिम्मेवारी निष्ठापूर्वक बहन गरिरहेको अवस्थामा यो घटनाले संस्था शोकाकुल बनेको जनाएको छ । मृत्यु सन्देशमा पनि प्रतिष्ठान र अन्य व्यक्तिका बारेमा कुनै किसिमको आरोप नभेटिएको संस्थाले दाबी गरेको छ । कार्यालयमा कागजात खोज्ने क्रममा दिपेन्द्रले लेखेको चिठ्ठीसमेत फेला परेको संस्थाले जनाएको छ । चिठ्ठीमा भनिएको छ,‘मेरो भन्नु केही छैन, घरायसी समस्या आयो, मैले मिलाउन सकिन, अलविदा सबैमा ।’ मृतकका परिवारले समेत घटनालाई अनावश्यक नउचाल्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय