
१४ वर्षअघि धुलिखेलको सडकछेउमा ‘खानेकुरा ल्याइदिन्छु’ भन्ने बहानामा छोडेर फरार भएका बाबु अझै भेटिएका छैनन् । तर, त्यो दिनबाट टुहुरी जस्तै भएकी बालिका स्वस्तिका केसी अहिले १८ वर्षकी भइसकेकी छन् र उनी आमाको काखमा फर्किएकी छन् ।
१७ वैशाख २०६८ मा धुलिखेल नगरपालिका–७ स्थित सडक छेउमा आफ्नै बाबुले ६ वर्षीया स्वस्तिकालाई छोडेर कहिल्यै फर्केर हेरेनन् । त्यसयता उनको जीवन अनेक मोड हुँदै अघि बढ्यो । बुबाले छाडेर गएपछि धुलिखेलकै राधा माकजुले स्वस्तिकालाई फेला पारिन् र एक वर्षसम्म आफ्नो साथमा राखेर विद्यालय भर्ना गराइन् । पछि विदेश जानु परेपछि उनले बालिकालाई सिद्धार्थ बालगृहको जिम्मा लगाइन् ।
सिद्धार्थ बालगृहकी सञ्चालक शर्मिला श्रेष्ठको संरक्षणमा हुर्किएकी स्वस्तिकाले कक्षा १० सम्म सञ्जीवनी नमुना माध्यमिक विद्यालय र कक्षा ११–१२ आदर्श विद्या मन्दिर, बनेपाबाट पढाइ पूरा गरिन् । नागरिकता बनाउने बेला परिवारको विवरण आवश्यक भएपछि स्वस्तिकाको वास्तविक परिचय खोज्ने प्रयास शुरु भयो । श्रेष्ठले सामाजिक अभियन्ता अर्जुन भुसाललाई सहयोगका लागि अनुरोध गरिन् ।
भुसालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोले चमत्कारी परिणाम ल्यायो । भिडियो हेरेपछि चितवनबाट स्वस्तिकाकी आमा मञ्जु केसीले सम्पर्क गरिन् ।
चितवन पुगेर आमासँग पुनर्मिलनको भावुक क्षण सम्झिँदै स्वस्तिकाले भनिन्, भेट्दा म अवाक भएँ, यति खुसी होला भन्ने सोचेको थिइनँ । ममीसँग भेट्दा खुशीको आँसु आफैँ खस्यो ।
स्वस्तिकाकी आमा मञ्जुले पहिल्यै पतिको अत्याचार सहन नसकेर घर छोडेकी थिइन् । माइती नभएकी मञ्जुले पछि अर्को विवाह गरेकी थिइन् । बाबुले पनि दोस्रो विवाह गरेपछि छोरीप्रतिको व्यवहार बदलिएको थियो । अन्ततः ६ वर्षीया छोरीलाई सडकमा छोडेर हराए ।
स्वस्तिकाकी आमासँग भेट भए पनि उनले अझै आफ्नो बुबाको वास्तविकता बुझ्न चाहने बताएकी छन् । सामाजिक अभियन्ता भुसाल अहिले उनका बाबुको खोजीमा छन् ।
सूचनाका आधारमा उनका बाबु अमलेखगञ्ज आसपास पेट्रोलियम ट्यांकरमा टोकन प्रणालीको काम गरिरहेको हुनसक्ने अनुमान गरिएको छ । भुसाल त्यहीँ खोजीका लागि जाने तयारीमा छन् ।