
हेटौंडा । नेपाली कांग्रेस बागमती संसदीय दलको नेताबाट विश्वास गुमाएका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले तीन जना मन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेसका पाँच जना मन्त्रीहरुले राजीनामा दिएको पाँच वटा मन्त्रालयमध्ये तीन मन्त्रालयमा मन्त्री नियुक्त गरेको मुख्यमन्त्री लामाले जानकारी दिए ।
मन्त्री नियुक्त हुनेहरुमा गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालय दिइएको छ भने सांसद माया श्रेष्ठ र गिता गुरुङलाई मन्त्री नियुक्त गरेको तर मन्त्रालय भने तोकिएको छैन । नियुक्त गरिएका मन्त्रीहरुको शपथग्रहण आजै गर्नेगरी तयारी गरिएको छ ।
यता कांग्रेस बागमती प्रदेश संसदीय दलमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि रिक्त भएको दलको नेताको पदका लागि कांग्रेसले मतदानको प्रक्रिया अघि बढाएको हो । कांग्रेस प्रदेश कार्यसम्पादन समितिले दिउँसो २ बजेबाट मतदान प्रक्रिया सञ्चालन गर्ने जनाएको छ ।
हिजो मंगलबारको दल बैठकमा लामाविरुद्ध २२ सांसदले मत दिएका थिए, यो संख्या कांग्रेस संसदीय दलभित्र स्पष्ट बहुमत हो । लामाको पक्षमा १५ सांसद मात्र देखिएका थिए । लामालाई हराउँदै बलियो बनेको यो समूहको नेतृत्व कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरेका छन् ।