
पथरी । मोरङको पथरी शनिश्चरे–२ मा रहेको रेडस्टार इङ्लिस बोर्डिङ स्कुलले कक्षा–१२ परीक्षा २०८२ को नतिजामा नेपाल प्रथम हुन सफल विद्यार्थीहरुसँग पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार रेडस्टारले नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा कक्षा १२ को नतिजामा सर्वाेत्कृष्ट ३.९६ जिपिए ल्याई नेपाल प्रथम बन्न सफल विद्यार्थीद्वय चन्दन साह र प्रविण कट्टेललाई नगद रु. ५० हजार सहित सम्मान गरेको छ । प्रमुख तुम्वापोले साह र कट्टेललाई ५० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो । यस्तै पथरी शनिश्चरेमै सबै विषय समूह मध्ये सर्वाेत्कृष्ट ३.९२ जिपिए ल्याउन सफल मनिषा पोखरेल र प्रमिश रिजाललाई पनि सम्मान गरिएको थियो ।
सम्मान पश्चात् नगर प्रमुख तुम्वापोले भन्नुभयो–‘यस पटकको कक्षा १२ को परीक्षामा सर्वाेत्कृष्ट अंक ल्याई नेपाल प्रथम बन्न सफल भएकोमा विद्यार्थी, अभिभावक र विद्यालय परिवारलाई हार्दिक बधाई ज्ञापन गर्दछु । यो हाम्रो नगरकै शान हो यसलाई विद्यालयले निरन्तरता कायम गरोस् शुभकामना ।’
यसैगरी पत्रकार भेटघाट कार्यक्रममा सम्मानित विद्यार्थीद्वय साह र कट्टेलले आ–आफ्ना भनाइहरु राख्नुभएको थियो । विद्यालयका प्राचार्य टि.एन. तिम्सिनाले स्वागत मन्तव्य राख्दै विद्यालय प्रेस वक्तव्य प्रस्तुत गर्नुभएको थियो ।
५ लाख १० हजार ९ सय ८७ विद्यार्थी मध्येबाट रेडस्टार मावि पथरी शनिश्चरेका चन्दन साह र प्रविण कट्टेल कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएका हुन् । रेडस्टारबाट कक्षा १२ को परीक्षामा सहभागी कूल २ सय ७० परीक्षा मध्ये २ सय ६२ जना (९७.०४%) ग्रेडेड र ८ जना ननग्रेडेड भएका छन् । नतिजा अनुसार ३१ जनाले ३.६ भन्दा माथि, १२७ जनाले ३.२ भन्दा माथि, ८९ जनाले २.८ भन्दा माथि र १५ जनाले २.४ भन्दा माथि जिपिए प्राप्त गर्न सफल भएका छन् ।
विद्यालयले गत वर्षको एस.ई.ई.को नतिजामा जम्मा १८६ जनाको ४ जिपिए आउँदै गर्दा विद्यालयका सतिश आचार्य र अजय लिम्बुले ४ जिपिए प्राप्त गरेको थियो । यसै वर्षको प्रकाशित बीबीएस प्रथम वर्षको नजितामा पनि छात्रा कृतिका भट्टराईले ७६.८० प्रतिशत अंक प्राप्त गर्दै यस क्षेत्रमै अब्बल सावित गरेकी थिइन् ।