
सम्झना राई उर्लाबारी, “प्रकृति स्रोत, जल, जमीन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट्रसंघको एजेन्सी युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर” भन्ने मूल नाराका साथ ३१औं विश्व आदिवासी दिवस २०८२ शनिबार मोरङको उर्लाबारीमा भव्य रूपमा सम्पन्न भयो।
चिउरा मिलदेखि र्याली गर्दै कार्यक्रम स्थलसम्मको उत्साहपूर्ण यात्रा पश्चात् औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा सभाध्यक्ष प्रेम बहादुर याक्खा, प्रमुख अतिथि नगर प्रमुख गंगा खरेल, विशिष्ट अतिथि निवर्तमान मेयर खड्ग फागो र अतिथि संस्थापक अध्यक्ष रामकुमार राई रहेका थिए।
सञ्चालन संस्थाकी सचिव सुसिला मगरले कार्यक्रम सञ्चालन गरेकी थिइन्। कार्यक्रममा विभिन्न संस्थाका पदाधिकारी, राजनीतिक दलका अग्रज, वडास्तरीय जनप्रतिनिधि तथा विभिन्न जातीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोह प्रमुख अतिथि खरेलको हातबाट गमलामा पानी हालेर गरिएको थियो, जसले प्रकृति संरक्षण र जीवन चक्रप्रतिको सम्मानलाई प्रतिकात्मक रूपमा दर्शायो।
यस अवसरमा धिमाल, नेवार, मगर, लिम्बू, दनुवारलगायतका समुदायहरूले आफ्ना सांस्कृतिक झाँकी प्रस्तुत गर्दै सांस्कृतिक विविधता र ऐक्यबद्धताको सन्देश प्रकट गरे।
कार्यक्रमले आदिवासी जनजातिहरूको हकअधिकार, पहिचान र सांस्कृतिक सम्पदाको संरक्षणका लागि एकजुट भएर अगाडि बढ्ने संकल्प व्यक्त गर्दै समापन गरियो।