उर्लाबारी/ मोरङको उर्लाबारीबाट ठूलो मात्रामा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति कारमार्फत लागुऔषध ल्याउँदै गर्दा उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–४ का ४३ वर्षीय केदार ओझा, मोरङको उर्लाबारी–४ की २२ वर्षीया एन्जिला दाहाल र उर्लाबारी–७ का ३२ वर्षीय सुजन सेन्दाङ रहेका छन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले इन्स्पेक्टर रन्जन बरालको नेतृत्वमा राति ११ बजे उर्लाबारी–९ आमबारीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार दुर्गापुरी–उर्लाबारी सडकखण्डमा बा ३ च ७९८१ नम्बरको कार चेकजाँच गर्दा सीटभित्र ग्यालिनमा भरेर ल्याइएको कोरेक्सजस्तो देखिने ५ लिटर लागुऔषध र नाइट्राभेट १० पत्ता ९१ सय ५० ट्याब्लेट बरामद भएको हो ।

उनका अनुसार कार चालक ओझासहित दुई जनालाई तत्कालै पक्राउ गरिएको थियो भने सोही क्रममा कारसँगै आएको बा ७८ प ४०९८ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । मोटरसाइकल चालक सेन्दाङलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका तीनै जनाले लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय